नेपाली सेनाद्घारा देशको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा राहत तथा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण नेपाली सेनाको उद्धार टोली परिचालन भई उद्धार कार्य गरिरहेको छ । 
२. सुर्खेत जिल्लाको रानीघाट, साताखानी, छिन्चु–हरिहरपुर सडक खण्ड, कटकुवा ईलाका, सल्यान जिल्लाको लिगलचुला र बटालीखोला, जाजरकोट जिल्लाको बाराकोट दोलाहा, बर्दिया जिल्लाको गुलरिया नगरपालिका र वगनाह ईलाका, दाङ्गको ढडुवा तथा कैलालीको भजनी इलाका लगायत देशका विभिन्न स्थानहरुमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । कैलालीको टिकापुर रानीकुलो बांध मरामत र बाजुरा जिल्लाको त्रिवेणी जलविद्युत आयोजनाको नहर मर्मत गर्ने कार्यको लागि समेत नेपाली सेनाको फौज परिचालन भईरहेका छन् । 
३. यसैगरी बर्दिया जिल्लाको पदनाहा र बांनियाभारमा नेपाली सेनाको सुपरपुमा हेलिकप्टरबाट २ पटक गरी २६०० के.जी., बर्दियाकै बाबियाचौर र घाटगाउंमा एम आई १७ हेलिकप्टरबाट १७०० के.जी., सुर्खेतको तरङ्गा र हरिहरपुरमा नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरबाट २२०० के.जी., बांकेको कम्दी र सल्यानको लिगलचुलीमा नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरद्धारा राहत सामाग्री ढुवानी गरेको छ । नेपाली सेनाको एलुवेट हेलिकप्टरद्धारा रोल्पा जिल्लाको राउं गा.वि.स.बाट १ जना घाईतेलाई उद्धार गरी दाङ्ग लगिएको छ भने आजै गोरखाबाट १ जना घाईतेलाई काठमाण्डौं ल्याईएको छ । 
४. यसै गरी देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावित ईलाकाहरुमा नेपाली सेनाले सम्भावित क्षेतिलाई न्युनिकरण गर्ने कार्यमा अहोरात्र खटिइ रहेको र उक्त इलाकाहरुमा राहत तथा उद्धार कार्य निरन्तर जारी राखेको छ ।