नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ भाद्र ४ गते २ वटा विष्फोट गरेको छ । आज उक्त स्थानमा थप फौज परिचालन गरिएको छ । आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) २२५ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) २३० क्युसेक रहेको  छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्न पाईलट ट्र्याक करिव ७०० मिटर पुरा भई सकेको र बांकी खोल्ने कार्य समेत जारी रहेको छ । उक्त स्थानमा रहेको कृत्रिम तालमा नेपाली सेनाले रवर बोटद्धारा स्थानियहरुलाई ओसार पसार गरिरहेको छ । आजै उक्त स्थानमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डे र विकास निर्माण तथा स्थपति महा निर्देशनालयका निर्देशक उपरथी श्री नरेश बस्न्यातले निरिक्षण गर्नुभई उद्धार कार्यमा संलग्न फौजलाई उद्धारकार्य अझ दु्रत ढङ्गबाट संचालन गर्न निर्देशन समेत दिनुभयो । 

२. यसैगरी, मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण नेपाली सेनाको उद्धार टोली परिचालन भई उद्धार कार्य गरिरहेको छ । सोही क्रममा, नेपाली सेनाले सुर्खेत जिल्लाको साताखानी, तातोपानी, तरंगा, बर्दिया जिल्लाको शिवपुर ईलाका, दाङ्गको गोलटाकुरी ईलाका ईलाकामा खोज तथा उद्धार कार्य जारी राखेको छ भने जाजरकोट जिल्लाको लामीडांडामा पहिरो हटाउने कार्य गरिरहेको छ । भने बांके जिल्लाको बांके गाउं, कम्दी, नयांबस्ती, एयरपोट, सितापुर र गुलरिया ईलाकामा राहत सामग्री ढुवानी तथा उद्धार कार्य जारी राखेको छ ।