प्रधानसेनापतिद्धारा सुनकोशी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

१. आज मिति २०७१ भाद्र ५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरो प्रभावित क्षेत्रमा भईरहेको उद्धार कार्यको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ । 
२. प्रधानसेनापतिद्धारा मिति २०७१ श्रावण १७ गते उक्त स्थानमा गएको पहिरो तथा त्यसबाट आईपरेको विपद्, तथा हाल भईरहेको उद्धार कार्य लगायत नेपाली सेनाद्धारा निर्माण भईरहेको बैकल्पिक मार्ग, कृत्रिम तालबाट पानी निकाशको लागि बनाईएको च्यानल लगायत बिपद् उद्धार सम्बन्धि विविध पक्षबारे जानकारी हांसिल गर्नु भएको थियो । यसैगरी प्रधानसेनापति श्री राणाले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुख लगायत स्थानीय पदाधिकारीहरुसंग बस्तुस्थितिबारे जानकारी लिनु भएको थियो । उक्त स्थानमा तैनाथ सकल दर्जाहरुसंग भेटघाट गर्नु भई प्रधानसेनापति श्री राणाले खोज, उद्धार कार्य तथा बैकल्पिक सडक निर्माण द्रुत गतिमा संचालन गर्न निर्देशन समेत दिनु भएको थियो । 

३. यसैगरी, अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ भाद्र ५ गते २ वटा विष्फोट गरेको छ । आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) २१५ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) ३०० क्युसेक रहेको  छ । साथै, बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्न पाईलट ट्र्याक करिव ७५० मिटर पुरा भई सकेको र बांकी खोल्ने कार्य समेत जारी रहेको छ ।