नेपाली सेनाद्धारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सुचारु गर्न नेपाली सेनाले निरन्तर रुपमा कार्य गरिरहेको छ । पानीको सतहलाई घटाउन हालसम्म १०० वटा विष्फोटन गरिसकिएको र पानीको सतह क्रमशः घट्ने क्रम जारी रहेको छ । आज वेलुकी १७०० बजे लिईएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) १९३ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) २८१ क्युसेक रहेको छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्ने क्रममा आजसम्म पाईलट ट्र्याक करिव १३०० मिटर पुरा भएको साथै बाह्रविसे तर्फबाट बैकल्पिक सडकको करिव ३५०० मिटर स्तरोन्नती कार्य समेत पुरा भएको छ । 

२. यसैगरी, मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारको लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तर रुपमा संचालन गरिरहेको छ । यसैबीच, पोखरा स्थित फेवा तालको पारीपट्टी रहेको चाईनिज स्तुपा जाने बाटोमा रहेको टिपिकल रेष्टुरेन्ट पहिरोले क्षतिग्रस्त भएकोमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।