नेपाली सेनाद्धारा सिन्धुपाल्चोकको सुनकोशीस्थित बैकल्पिक अस्थाई मार्ग खोल्ने कार्य पुरा

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले मित्रराष्ट्र चिनसंगको एकमात्र व्यापारिक मार्ग अरनिको राजमार्ग अवरुद्ध भएपश्चात नेपाली सेनाले मिति २०७१ श्रावण २७ गतेबाट बैकल्पिक अस्थाई मार्ग निर्माण सुरु गरेकोमा आज मिति २०७१ भाद्र ११ गते उक्त मार्गको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । बैकल्पिक अस्थाई मार्ग निर्माणको क्रममा २.८ कि.मि. नयां मार्ग निर्माण गरिएको छ भने बाह्रविसे ईलाकाबाट पूर्व निर्मित ३.५ कि.मि. ट्रयाकको स्तरोन्नती गर्ने कार्य गरिएको छ । उक्त बैकल्पिक अस्थाई मार्गमा पर्ने टौथली र दादी खोलामा २ वटा कजवे निर्माण गर्ने कार्य समेत सुरु भईरहेको छ । यसैबीच, आज उक्त स्थानमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डे तथा विकास निर्माण तथा स्थपति महानिर्देशक उपरथी श्री नरेश बस्न्यातले निरीक्षण गर्नु भई उद्धार कार्य सम्बन्धमा जानकारी हासिल गर्नुका साथै उद्धार कार्यमा संलग्न फौजलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । सुनकोशीको बहाबलाई सुचारु गर्न आज नेपाली सेनाले ३ वटा विष्फोटन गरेको छ । आज लिईएको मापन अनुसार उक्त स्थानमा बनेको कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) १९१ क्युसेक र बाहिरी बहाब (Outflow) २३८ क्युसेक रहेको छ । 

२. यसैगरी, अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारको लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तर रुपमा संचालन गरिरहेको छ । यसै क्रममा पर्वतको पकुवा ईलाका, कास्कीको फेवाताल, बर्दियाको शिवपुर, बांकेको मगवा खोला र डडुवा खोला ईलाका, सुर्खेतको धारापानी, रसुवाको राम्चे र सिन्धुपाल्चोकको जुरेमा उद्धार कार्य जारी राखेको छ । यसैबीच, कैलालीको लालपुरमा नेपाली सेनाद्धारा स्वास्थ्य शिविर संचालन भईरहेको छ र दाङ्गको पुरनधारास्थित कप्ताने र गंगटे ईलाकामा नेपाली सेनाको हेलिकप्टरद्धारा २४०० के.जी. राहत सामग्री ढुवानी गरिएको छ ।