सैनिक श्रीमती संघद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न

१. आज मिति २०७१ भाद्र २९ गते राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा श्री सैनिक श्रीमती संघको आयोजना तथा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा उपत्यका भित्र रहेका सैनिक महाविद्यालयमा अध्ययनरत छात्रछात्राहरु समावेश गरी हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  

२. उक्त प्रतियोगितामा उपत्यका भित्रका सैनिक आवासीय मा.वि., भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर सैनिक मा.वि., विजेश्वरी तथा रिपूमर्दिनी सैनिक मा.वि., बांसबारी सहभागी रहेका थिए भने उक्त प्रतियोगितामा रिपुमर्दिनी सैनिक मा.वि. प्रथम हुन सफल भएको थियो । सो अवसरमा विजयी विद्यालयलाई प्रधानसेनापति श्री राणाले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसैगरी प्रधानसेनापति श्री राणाले मिति २०७१ भाद्र ९ गते सम्पूर्ण महाविद्यालयहरुबीच सम्पन्न भएको चित्रकला, निवन्ध र कविता लेखन प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मोमेण्टो प्रदान गर्नु भएको थियो । साथै विजेश्वरी ज्ञान मन्दिर सैनिक मा.वि.मा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुमा प्रथम हुने विद्यार्थीलाई अ.प्रा. प्रधानसेनापति प्रज्वल शम्शेर ज.ब.रा. छात्रबृत्ति तथा रिपूमर्दिनी सैनिक मा.वि.मा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुमा प्रथम हुने विद्यार्थीलाई तोक कुमारी स्मृति छात्रबृत्ति प्रदान गर्नुका साथै २०७० सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सकल दर्जाका ५ जना सन्ततीलाई नगद पुरस्कार प्रदान गर्नु भएको  थियो । 

३. उक्त कार्यक्रममा पूर्वप्रधानसेनापति, रथीबृन्द, सेनानी समुह, सैनिक श्रीमती संघका पदाधिकारीहरु लगायत सैनिक आवासीय महाविद्यालयका शिक्षक, शिक्षार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । 

४. यसैबीच आजै सैनिक श्रीमती संघको वार्षिक साधारण सभा २०७१ सम्पन्न भएको छ । उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती रोहिणी राणाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने कोषकी कोषाध्यक्ष श्रीमती संगिता ठकुराठीले वार्षिक आय व्ययको विवरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा संघका पूर्व पदाधिकारीहरुको विदाई कार्यक्रम समेत भएको थियो ।