भारतीय सेनाध्यक्षको औपचारिक नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा भारतीय सेनाका सेनाध्यक्ष General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC ले मिति २०७१ कार्तिक २६ गतेबाट ऐ.२९ गते (तदनुसार १२-१५ नोभेम्बर २०१४) सम्म नेपाल भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ। 

२. सेनाध्यक्ष General Singh मिति २०७१ कार्तिक २६ गते नेपाल आउनु हुने तथा सोही दिन टुडिखेलस्थित सैनिक मञ्चको "वीर स्मारक" मा माल्यार्पण (Wreath Laying) गर्नुहुनेछ। तत्पश्चात वहांलाई जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्नेछ। सोही सांझ वहांले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग शिष्टाचार भेटघाट गर्नु हुनेछ। 

३. मिति २०७१ कार्तिक २७ गते वहांले पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भई अपरान्ह सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसंग वहांकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु हुनेछ। यसैगरी सोही दिन राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति ज्यूबाट वहांलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ भने सोही सांझ प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ। 

४. मिति २०७१ कार्तिक २८ गते मुस्ताङ जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण तथा पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नु हुनेछ। सोही दिन General Singh ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को सम्मानमा रिसेप्शनको आयोजना गर्नु हुनेछ भने भारतीय राजदुतबाट रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।  

५. भ्रमण पुरा गरी भारतीय सेनाध्यक्ष तथा वहांको भ्रमणदल मिति २०७१ कार्तिक २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।