प्रधानसेनापतिद्धारा मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७१ आश्विन ३० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगत सल्यान जिल्ला स्थित भगवतीदल गण, रोल्पा जिल्ला दहवन स्थित देवीदत्त गणको सुरक्षा वेश, सुर्खेत जिल्ला स्थित मध्य पश्चिम पृतना हे.क्वा. तथा पृतना हे.क्वा.को हाताभित्र रहेका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ। 

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु हुंदै आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो।  

३. सम्बोधनकै क्रममा प्रधानसेनापति श्री राणाले नेपाली सेनामा आवद्ध बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका श्रीमतीहरु एवं एकल महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गरी व्यवहारिक ज्ञान तथा सिपको माध्यमबाट रोजगारीको अवसर श्रृजना गरी पारिवारीक स्वावलम्वन र समृद्धि प्रदान गर्दै जीवनस्तरमा सुधार गर्ने लक्ष्य नेपाली सेनाको रहेको बताउनु भयो। त्यसैगरी, भु.पु. सैनिकहरुको सरल जिविकोपार्जनको लागि लघुवित्त योजना संचालनमा ल्याई कार्यान्वयन गरि सकिएको समेत बताउनु भयो। 

४. प्रधानसेनापति श्री राणा उक्त निरीक्षण कार्यक्रम पश्चात आज सुर्खेत स्थित मध्य पश्चिम पृतना हे.क्वा.मा मुकाम हुने कार्यक्रम रहेको छ।