नेपाली सेना व्यवसायिक तालिम केन्द्र (Vocational Training Center) को समुद्घाटन

१. आज मिति २०७१ आश्विन १४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले छाउनीस्थित सैनिक श्रीमती संघको व्यवसायिक तालिम केन्द्र (Vocational Training Center) को नवनिर्मित भवनको समुद्घाटन गर्नु भएको छ। 
 
२. उक्त व्यवसायिक तालिम केन्द्रको लक्ष्य नेपाली सेनामा आवद्ध बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका श्रीमतीहरु एवं एकल महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गरी व्यवहारिक ज्ञान तथा सिपको माध्यमबाट रोजगारीको अवसर श्रृजना गरी पारिवारीक स्वावलम्वन र समृद्धि प्रदान गर्दै जीवनस्तरमा सुधार गर्ने रहेको छ। उक्त तालिम केन्द्रले नेपाली सेनाद्धारा संचालनमा ल्याई सकेको व्यवसायिक तालिम ईन्स्टिच्युट (Vocational Training Institute) संग निकट समन्वय राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) संग सम्बन्धन प्राप्त गरी विविध तालिमहरु संचालन गर्नेछ। उक्त उदघाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, सैनिक श्रीमती संघको पदाधिकारीहरु लगायत सकल दर्जाहरुको उपस्थिति रहेको थियो। 

३. उक्त तालिम केन्द्रमा ३२० जना शिक्षार्थीहरुलाई एकै पटक तालिम गराउन सकिने ८ ओटा हलहरु समेत रहेका छन। निकट भविष्यमा नै पहिलो चरणमा व्युटिसियन, सिलाई कटाई तथा बुनाई, कम्प्युटर र मोटर ड्राइभिङ जस्ता व्यवसायिक तथा रोजगारमुलक तालिमहरु संचालन गरिने योजना रहेको छ। 
  
४. नेपाली सेना सैनिक श्रीमति संघ बि.सं. २०४० स्थापना भई स्थापना कालदेखि नै आफ्नो क्रियाकलापहरुलाई सैनिक परिवारहरुको कल्याण र सामाजिक सेवामा केन्द्रित रहदै आएको छ।