नेपाली सेनाद्धारा सुनकाशी नदीको धुस्कुन गा.वि.स. र बाह्रविसे गा.वि.स.को सिमानामा Acrow Bridge निर्माण पश्चात कोदारी राजमार्गमा सवारी आवागमन सूचारु

१. सुनकोशीको जुरेमा गएको पहिरोबाट अवरुद्ध अरनिको राजमार्ग खुलाउन नेपाली सेनाद्धारा बैकल्पिक मार्ग निर्माण कार्य सुरु गरेपछि धुस्कुन गा.वि.स. र बाह्रविसे गा.वि.स.को सिमानामा पर्ने सुनकोशी नदीमाथि निर्माण थालिएको Acrow Bridge को आज मिति २०७१ आश्विन १२ गते कार्य सम्पन्न भए पश्चात कोदारी राजमार्गमा सवारी आवागमन सुरु भएको छ। 

२. कम समयमा नै Acrow Bridge निर्माण गरी यातायातका साधनहरु सूचारु गर्न नेपाली सेनाले मिति २०७१ आश्विन १ गतेबाट बेश निर्माणको कार्य तीब्र गतिमा सुरु गरेको थियो। जसको परिणाम स्वरुप आज मिति २०७१ आश्विन १२ गतेको १५३० बजेबाट उक्त Acrow Bridge बाट सार्वजनिक यातायातका साधनहरु चल्न थालेका छन्। नेपाली सेनाका प्राविधिकहरुबाट १२० फिट लम्बाई, ५.५ मिटर चौडाई र ३० टन अधिकतम भारवहन क्षमता रहेको उक्त पुललाई सो स्थानमा जडान गर्ने कार्य सम्पन्न भएको छ।  

३. मिति २०७१ भाद्र २५ गतेबाट नेपाली सेनाको पहलमा खाडीचौरबाट सुनकोशी सम्म सवारी साधन संचालनमा आएकोमा आज मिति २०७१ आश्विन १२ गते Acrow Bridge तयार भएपश्चात आवागमन पूर्ण रुपमा सुचारु भएको छ।  

४. उक्त पुल आजबाट संचालनमा आउंदा स्थानिय सर्वसाधारहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै उक्त समुहले पुल निर्माणमा संलग्न सम्पूर्ण सैनिकहरुलाई फुलमाला र खादा सहित सम्मान गरेका थिए भने उक्त पुलबाट आवागमन गर्ने सवारी साधनहरुलाई फुलमाला तथा अविरले स्वागत समेत गरेका थिए।