भारतीय स्थल सेनाध्यक्ष चारदिने भ्रमणका सिलसिलामा नेपालमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC मिति २०७१ कार्तिक २६ गतेबाट ऐ.२९ गते (तदनुसार १२-१५ नोभेम्बर २०१४) सम्म नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७१ कार्तिक २६ गते बिशेष विमानद्धारा काठमाण्डौ आई पुग्नु भएको छ।  

२. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा ६ सदस्यीय भ्रमण दल नेपाल आई पुगेको छ। भारतीय स्थल सेनाध्यक्षलाई कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तराष्टि्रय विमानस्थलमा स्वागत गर्नु भएको थियो।  

३. भारतीय स्थल सेनाध्यक्ष General Singh ले अपरान्ह सैनिक मञ्च स्थित "वीर स्मारक" मा मार्ल्यापण गरि श्रद्धाञ्जली अर्पण गर्नु भयो। आजै वहांले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संग जंगी अड्डामा भेटघाट गर्नुभयो। उक्त भेटघाट पूर्व वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो।  

४. सम्मान गारतको कार्यक्रम पछि भारतीय स्थल सेनाध्यक्षले प्रधानसेनापति श्री राणासंगको भेटवार्ताका क्रममा द्धिपक्षिय सहयोग लगायत आपसी हितका बिषयहरुमा छलफल भएको थियो। उक्त छलफल पश्चात भारतीय सेनाध्यक्ष General Singh ले नेपाली सेनाका पि.एस.ओज. रथीबृन्दहरुसंग समेत भेटघाट गर्नु भएको थियो। 

५. नेपाल सरकारको तर्फबाट सम्माननीय राष्ट्रपतिद्धारा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रममा सरिक हुन वहां नेपाल आउनु भएको हो। वहांलाई भोली मिति २०७१ कार्तिक २७ गते राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति ज्यूबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा वहांले सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री संग समेत भेटघाट गर्नु हुनेछ।