सम्माननीय राष्ट्रपतिज्यूद्धारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीबाट शुसोभित

१. सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh लाई आज मिति २०७१ कार्तिक २७ गते राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो। उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो।  

२. नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाल तथा भारतका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ।  

३. भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh ले आजै सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसंग वहांकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु भएको थियो। भेटघाटमा नेपालका लागि भारतीय महामहिम राजदुतको समेत उपस्थिति रहेको थियो।
  
४. उहांले आजै काभ्रेपलाञ्चोक जिल्लास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भएको थियो। भ्रमणको क्रममा उक्त केन्द्रका केन्द्रपतिले उहांलाई तालिम केन्द्रमा संचालन हुने विभिन्न तालिम लगायत विविध विषयहरुबारे जानकारी गराउनु भएको थियो। भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh ले आज सांझ एक विशेष कार्यक्रममा त्रिभुवन आर्मी क्लवमा श्री सैनिक श्रीमती संघको वार्षिक प्रकाशन “सेवा सुमन” को विमोचन गर्नु हुने कार्यक्रम रहेको छ।  

५. त्यसैगरी भारतीय सेनाध्यक्ष General Dalbir Singh प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उहांको सम्मानमा आज सांझ जंगी अड्डामा आयोजना गर्नुहुने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।