भारतीय सेनाध्यक्ष नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मिति २०७१ कार्तिक २६ गतेदेखि चारदिने नेपालको भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh तथा वहांको नेतृत्वमा रहेको ६ सदस्यीय भ्रमणदल आज मिति २०७१ कार्तिक २९ गते स्वदेश फिर्ता भएको छ। वहांलाई कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा विदाई गर्नु भएको थियो।  

२. भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh ले मिति २०७१ कार्तिक २६ गते सैनिक मञ्च स्थित "वीर स्मारक" मा मार्ल्यापण गरि श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो भने सोही दिन प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. र नेपाली सेनाका पि.एस.ओज. रथीबृन्दहरु संग समेत भेटघाट गर्नु भएको थियो। उक्त भेटघाट पूर्व वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो। 

३. भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh ले मिति २०७१ कार्तिक २७ गते सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसंग वहांकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु भएको थियो। सोही दिन वहांलाई राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति ज्यूबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट शुसोभित गरिएको थियो। 

४. नेपाल भ्रमणको क्रममा वहांले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, जोमसोमको कैसाङ स्थित सैनिक उच्च शिखर शिक्षालय र पोखरास्थित पश्चिम पृतना हे.क्वा.को समेत भ्रमण गर्नु भएको थियो। 

५. नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाल तथा भारतका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ। उक्त मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रममा सहभागी हुन भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh नेपाल आउनु भएको थियो। यस भ्रमणले दुई देश बीच रहंदै आएको सौहार्द्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत  पुर्‍याएको विश्वास नेपाली सेनाले लिएको छ।