प्रधानसेनापतिबाट नवनिर्मित भवनको समुद्घाटन

१. आज मिति २०७१ मंसिर १ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले नेपाली सेना कल्याणकारी योजना अन्तरगत श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी भक्तपुरमा निर्माण भएको बि.बि.ए./बि.एस्सी. संकायको नवनिर्मित भवनको समुद्घाटन गर्नु भएको छ।  

२. वि.सं.२०३५ सालमा मकवानपुर जिल्लाको भिमफेदीमा स्थापना भएको उक्त महाविद्यालय वि.सं.२०४४ सालदेखि भक्तपुर जिल्लास्थित सल्लाघारीमा संचालन हुंदै आईरहेको छ। महाविद्यालयलाई क्रमशः विकास र विस्तार गर्दै लैजाने नेपाली सेनाको नीति अनुरुप उक्त महाविद्यालयमा वि.सं. २०६९ सालबाट बी.एस्सी. तथा वि.सं.२०७० सालबाट स्नातक तहमा बी.बी.ए. कार्यक्रम संचालन गरिएको थियो।  

३. हाल बी.एस्सी. संकायमा छात्र ३० जना र छात्रा २६ गरी ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने बि.बि.ए. संकायमा छात्र ७७ जना र छात्रा ४८ जना गरी १२५ जना अध्ययनरत रहेका छन्। उक्त दुवै संकायहरुमा त्रिभुवन विश्व विद्यालयबाट १० प्रतिशत, गैर सैनिक तर्फबाट ७५ प्रतिशत र सैनिक तर्फबाट १५ प्रतिशत विद्यार्थीहरुलाई समावेश गरी अध्यापन गराईदै आएको छ। 

४. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, शिक्षक/शिक्षिका, उक्त महाविद्यालयका कर्मचारी लगायत अध्ययनरत बिद्यार्थीहरुको उपस्थित रहेको थियो।