प्रधानसेनापतिबाट शान्ति स्थापनार्थ खिट्टई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७१ मंसिर ५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, दक्षिण सुडानमा तैनाथ हुन जाने श्री सुर्यदल गण (शा.से.) पांचौं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण तथा सम्बोधन गर्नु भयो।
 
२. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो। उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा तैनाथ हुन जाने नेपाली शान्ति सैनिकहरुलाई योग्य शान्ति सैनिकको रुपमा परिचय दिई आफ्नो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी बिश्व शान्ति प्रति नेपालको प्रतिवद्धताको सन्देश संसारमा फैलाउने कार्यमा सफल हुनेमा पुर्ण बिश्वास राख्दै पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ।  

३. कार्यक्रममा प्रधानसेनापति महारथी श्री राणाले विगत ५६ वर्ष देखि विश्व शान्ति स्थापनार्थ योगदान पुर्‍याउंदै आएको नेपाली सेनाले हालसम्म एक लाख भन्दा बढी सैनिकहरू ४१ वटा मिशनहरूमा खटाई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल १४ वटा विभिन्न मिशनहरूमा ४४४५ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नु भयो।  

४. सम्बोधनको क्रममा प्रधान सेनापति श्री राणाले बिश्वका बिभिन्न स्थानहरुमा शान्ति कायम गर्ने सत् प्रयासमा आफ्नो प्राण अपर्ण गर्ने ५९ जना नेपाली सेनाका वहादुर सैनिकहरुको योगदानको स्मरण गर्दै वहांहरु प्रति श्रद्धान्जली अपर्ण गर्नुहुंदै नेपाली शान्ति सैनिकहरुले देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमापनि आफ्नो पेशागत दक्षता, अनुशासन एवं कर्तव्य परायणता प्रदर्शन गर्नुपर्ने चुनौतिलाई प्रशंसनिय ढंगले पुरा गरी नेपाल र नेपाली सेनाको शिर अझ उचो बनाउन अभिन्न अवसरको रुपमा लिनु हुनेछ भन्ने कुरामा बिश्वास गर्नु भएको छ। प्रधान सेनापति राणाले हाल शान्ति सेनामा फौजको तैनाथी अवधि विगतको ६ महिनाबाट बृद्धि भई एक बर्ष पुगेको र संयुक्त राष्ट्र संघबाट प्रदान गरिने मासिक भत्तामा समेत बृद्धि भएको जानकारी गराउनु हुंदै यसबाट हांसिल हुने लाभका अतिरिक्त लामो समयावधिका कारण उत्पन्न हुन सक्ने कठिनाईहरु प्रति सचेत रहन समेत निर्देशन दिनु भएको छ। त्यसैगरी UNMISS Mission, दक्षिण सुडानमा डिप्लोई हुनु पूर्वको Pre-Deployment तालिमले मिशन ईलाकामा दिईएको जिम्मेवारी असरदार ढंगले पुरा गर्न सहयोग पुग्ने कुरामा विश्वास व्यक्त गर्दै Pre-Deployment  तालिम संचालन गराउन सरिक हुनु भएका सम्पुर्ण अधिकृत, पदिक, विल्लादार तथा अन्य दर्जाहरुलाई धन्यबाद दिनु भएको थियो। 

५. उक्त कार्यक्रममा का.मु. रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक लगायत अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो।