सार्क सम्मेलन संचालनका लागि नेपाली सेनाको मातहतमा गठित सुरक्षा, परिवहन तथा यातायात समन्वय तथा नियन्त्रण समितिले उपप्रधान तथा गृहमन्त्रीलाई डि–ब्रिफिङ्‌ग

१.    आज मिति २०७१ मंसिर २१ गते अपरान्ह माननीय उपप्रधान तथा गृहमन्त्रीज्यूको समुपस्थितिमा नेपाली सेनाको नेतृत्वमा रहेको ‘१८ औं सार्क शिखर सम्मेलन’ को लागि गठित सुरक्षा परिवहन तथा यातायात समन्वय तथा नियन्त्रण समितिले जंगी अड्डामा सार्क सम्मेलनको दौरान भएका विभिन्न पूर्वतयारी, संचालन र सुझाव सम्बन्धमा डि–ब्रिफिङ्ग गरेको छ ।

२.    उक्त अवसरमा समितिका अध्यक्ष बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले स्वागत मन्तव्य दिनु हुंदै यस पटक एकीकृत रुपमा भएको योजना, तयारी र कार्यान्वयन पक्षले प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न मात्र नभई सुरक्षा निकायहरुको अतिरिक्त विभिन्न मन्त्रालयहरुसंगको सहकार्यले आपसी समझदारी र आत्मविश्वास बढाउनुका साथै भविष्यमा आउने जस्तोसुकै चुनौतिलाई एक ढिक्का भई सरल र सहज ढंगबाट कार्य गर्ने संस्कृतिको विकास भएको विचार व्यक्त गर्नु भयो । सो अवसरमा युद्धकार्य निर्देशकले उक्त समितिले सार्क सम्मेलनलाई सफल बनाउन नेपाल सरकारका अन्य सुरक्षा निकाय, निजामती, गैरसरकारी, निजी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र संचारजगतसंग समेत समन्वय गरी गरेको पूर्वतयारी, संचालन र संचालनका दौरान भएका सकारात्मक र सुधार गर्नुपर्ने पक्षहरुका सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो ।

३.    उक्त कार्यक्रमको अन्त्यमा ‘१८ औं सार्क शिखर सम्मेलन’ लाई सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेनाको नेतृत्वमा गठित उक्त समितिको नेतृत्वले प्रदर्शन गरेको योगदानको उच्च मुल्यांकन गर्दै उक्त कार्यमा खट्टिएका सम्पुर्ण राष्ट्र सेवकहरुले अहोरात्र खट्टिई आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भएकोमा नेपाल सरकारका तर्फबाट माननीय उपप्रधान तथा गृहमन्त्रीले सबैलाई धन्यबाद दिनु भएको थियो । साथै वहांले छोटो समयमा यति ठूलो जिम्मेवारी सम्पन्न गर्न सकेको स्मरण गर्नुहुंदै यस तथ्यले भविष्यमा हामीले जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्षम छौं भन्ने धारणा राख्नु हुंदै जंगी अड्डाले डि–ब्रिफिङ्ग कार्यक्रमको आयोजना गरेर आगामी दिनहरुमा सुधार गर्नुपर्ने सुझावहरु समेत प्रस्तुत गरेकोमा विशेष धन्यबाद दिनु भएको थियो ।

४.    सो अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सम्माननीय प्रधानमन्त्री र माननीय उपप्रधान तथा गृहमन्त्रीको स्पष्ट मार्गनिर्देशनले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सहज भएको धारणा राख्नु भएको थियो ।

५.    सो अवसरमा गृह सचिव, रक्षा तथा परराष्ट्र मन्त्रालयका का.मु. सचिवहरु, गृह, रक्षा, परराष्ट्र मन्त्रालय र अन्तरगतका विशिष्ट अधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।