पृतनापति समन्वयात्मक बैठक सम्पन्न

१.    आज मिति २०७१ पौष ३ गते जंगी अड्डामा पि.एस.ओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित “पृतनापति समन्वयात्मक बैठक–२०७१” सम्पन्न भएको छ ।

२.    उक्त दुई दिने बैठकलाई समापन गर्ने सिलसिलामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सम्बोधन गर्नुहुंदै नेपाली सेनामा पूर्व माओवादी लडाकुहरुको समायोजन पश्चात व्यवस्थापन तथा बृत्ति विकासको कार्ययोजना सहित अगाडी बढिरहेको, दोश्रो संविधान सभाको निर्वाचन, हालै सम्पन्न सार्क शिखर सम्मेलनमा नेपाली सेनाले निर्वाह गरेको भूमिका, विभिन्न समयमा गरिएको राहत एवं उद्धार कार्य, विकास निर्माणका कार्य एवं विश्व शान्ति स्थापनाको लागि पुर्‍याउंदै आएको योगदानका सम्बन्धमा स्मरण गर्नुहुंदै यस किसिमको भेटघाट तथा छलफलले सैनिक संगठनको स्वार्थलाई मात्र टेवा नपुर्‍याई समग्र राष्ट्रिय सुरक्षा र हितलाई समेत सम्वर्द्धन गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुहुंदै बैठकका दौरान उठेका महत्वपूर्ण विषयहरु र प्राप्त सुझावको लागि सम्बन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

३.    “पृतनापति समन्वयात्मक बैठक–२०७१” मा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को समुपस्थितिमा बलाधिकृत रथी श्री पवन वहादुर पाण्डेले कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त समुद्घाटनका दौरान बलाधिकृत रथी श्री पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली सेनाको नीति निर्माण तहमा हुने यस प्रकारको समन्वयात्मक बैठकले आपसी अन्तरक्रियाको निमित्त मञ्च प्रदान गर्नुका साथै नेपाली सेनाको भावी गन्तव्यलाई तय गर्न रचनात्मक सुझावहरु समेत प्राप्त हुने अपेक्षा गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

४.    मिति २०७१ पौष २ गते देखि ३ गतेसम्म सञ्चालन भएको उक्त बैठक विगतमा नेपाली सेनाले तय गरेका विभिन्न कार्य योजनाहरुको प्रगति समिक्षा र आगामी दिनहरुमा गर्नु पर्ने विभिन्न कार्यहरुको योजना तय गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । बैठकमा विशेषतः नेपाली सेनाको वर्तमान तालिम र त्यसको समिक्षा, अपरेशनल गतिविधिको साथै विपद् व्यवस्थापन, विकास निर्माण तथा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षणका विषयहरुको प्रगति र समिक्षा, नेपाली सेनाको बन्दोबस्ती एवं कल्याणकारी योजनाहरुको कार्य प्रगति एवं समिक्षा लगायत समसामयिक विषयहरुमा विभिन्न पृतनाहरुबाट छुट्टाछुट्टै विषयहरुमा प्रस्तुतिकरण तथा छलफल एवं विचार विमर्श भएको थियो । विभिन्न विभागहरुबाट उक्त बैठकका दौरान नेपाली सेनाको दीर्घकालिन योजनाबाट प्राप्त उपलब्धीहरु, अल्पकालिन तालिम नीतिहरु, शान्ति सेनामा सहभागिता सम्बन्धि विषयहरु, विपद् व्यवस्थापन तर्फ क्भबचअज बलम च्भकअगभ इउभचबतष्यल, बदलिंदो सन्भर्दमा नेपाली सेनालाई आफ्नो व्यवसायिक क्षमतालाई असर नपर्ने गरी प्रतिरक्षा एवं विकास जस्ता विषयहरुमा समेत विचार विमर्श भएको थियो ।

५.    उक्त अवसरमा का.मु. रक्षा सचिव, पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

६.    यस समन्वयात्मक बैठकले नेपाली सेनाको सबै तहको अप्रेशनल गतिविधि तथा त्यसको पुनरावलोकन, तालिम, बन्दोबस्ती एवं कल्याणकारी योजना सम्बन्धि समिक्षा एवं भावी योजनाका सम्बन्धमा छलफल गरी राष्ट्रिय सुरक्षाका विषयहरुलाई मजबुत बनाउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।