शान्ति स्थापना कार्यार्थ UNMISS Mission, South Sudan मा एक नेपाली शान्ति सैनिकको शहादत

१.    शान्ति स्थापनार्थ कार्यको लागि UNMISS Mission, दक्षिण सुडानमा तैनाथ श्री अर्जुनबाण गण (शा.से.) पहिलो डफ्फामा कार्यरत स्व.प्युठ पुकार थापाको पार्थिव शरिरलाई आज मिति २०७१ पौष ९ गते गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली अर्पण गरिएको छ ।

२.    कर्तव्य पालनको शिलशिलामा शहादत प्राप्त गरेका स्व.थापाको पार्थिव शरिरमा नेपाली सेनाको तर्फबाट कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले फुलमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली चढाउनु भएको थियो । बागमती अञ्चल, भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स.–४, कोलडांडा स्थायी घर भई श्री नं.१ ह.सु. व्याट्रि, गौचर व्यारेकमा दरबन्दी भएका स्व.प्युठ पुकार थापा मिति २०७१ पौष ३ गते शान्ति स्थापनार्थ दक्षिण सुडानको Force Protection Duty मा खट्टिएको समयमा अचानक बेहोस भई उपचारका क्रममा देहान्त भएको थियो ।
 
३.    विश्व शान्ति, भातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहंदा शहादत प्राप्त गर्नु आफैंमा एक विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले हामी सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको छ । हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६० जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् ।

४.    यस दुःखद घडिमा सम्पुर्ण नेपाली सेना मृत आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछ ।