सैनिक आवासीय महाबिद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

१.    आज मिति २०७१ पौष १४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा सैनिक आवासीय महाविद्यालयको ३७ औं बार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम तथा अन्य विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

२.    उक्त कार्यक्रममा सैनिक आवासीय महाबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा उक्त बिद्यालयमा अध्यनरत सैनिक तथा गैह्र सैनिकका जेहेन्दार विद्यार्थीहरुलाई प्रमुख अतिथीद्धारा पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सैनिक आवासीय महाविद्यालयद्धारा प्रकाशित “सैनिक महाविद्यालय विगत र वर्तमान” र उक्त महाविद्यालयको मुखपत्र “सल्लाघारी” को विमोचन समेत गर्नु भयो । उक्त समारोहमा महाविद्यालयका प्रिन्सिपल श्री समिम अनवर समिमले स्वागत मन्तव्य व्यक्त गर्नु हुंदै आमन्त्रित प्रमुख अतिथी लगायत अन्य महानुभाव तथा अभिभावकबर्गलाई कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

३.    वि.सं.२०३५ सालमा मकवानपुर जिल्लाको भिमफेदीमा स्थापना भएको उक्त महाविद्यालय वि.सं.२०४४ सालदेखि भक्तपुर जिल्लास्थित सल्लाघारीमा संचालन हुंदै आईरहेको छ । महाविद्यालयलाई क्रमशः विकास र विस्तार गर्दै लैजाने नेपाली सेनाको नीति अनुरुप उक्त महाविद्यालयमा वि.सं. २०६९ सालबाट बी.एस्सी. तथा वि.सं.२०७० सालबाट स्नातक तहमा बी.बी.ए. कार्यक्रम संचालन गरिएको थियो । 

४.    नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट देशभर विभिन्न ९ वटा विद्यालय तथा १ मेडिकल कलेज र १ नर्सिङ्ग कलेज मुनाफा रहित रुपमा संचालन गरी हाल ५ हजार ५ सय ३३ जना सैनिक र गैह्र सैनिक तर्फका २४ सय ४४ जना गरी जम्मा ७ हजार ९ सय ७७ जना छात्र–छात्राहरुलाई शिक्षाको अवसर उपलब्ध गराउंदै आएको छ । उक्त शैक्षिक गतिविधि संचालन तर्फ ११ सय ४९ जना महिला तथा पुरुषहरुलाई विभिन्न कार्यमा रोजगारी समेत प्रदान गर्दै आईरहेको छ । यसरी, नेपाली सेनाको कल्याणकारी कोषसंग रहेको सीमित श्रोत र साधनलाई अधिकतम परिचालन गरी विद्यालय तथा कलेजहरु संचालन गर्दै सैनिक एवं गैह्र सैनिकका सन्ततीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न नेपाली सेनाले प्रयास गरिरहेको छ, जसले देशको समग्र शिक्षा क्षेत्रमा योगदान पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

५.    उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, त्रिभुवन बिश्वबिद्यालयका पदाधिकारीहरु तथा प्राध्यापकहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा अधिकारी, अभिभावकवर्ग, शिक्षक / शिक्षिका एवं कर्मचारी लगायत बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।