प्रधानसेनापति महारथी श्री गुरुङ्गद्वारा विभिन्न मुलुकका सेना प्रमुखहरुसँग भेटघाट तथा छलफल कार्यक्रमहरुमा सहभागी

१. गत २०६७ कार्तिक १ गतेबाट दक्षिण कोरियाको सियोलमा शुरु भएको १३ औं बार्षिक एशिया–प्रशान्त क्षेत्रका Chiefs of Defence (CHOD) सम्मेलनको क्रममा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले विभिन्न देशका सेना प्रमुखहरुसँग भेटघाट गर्नुका साथै विभिन्न छलफल कार्यक्रमहरुमा सहभागी हुनु भएको छ । २. सम्मेलनको दौरान, प्रधानसेनापति महारथी श्री गुरुङ्ग निजामती–सैनिक सहयोग (Civil Military Cooperation) सम्बन्धी विषयको छलफल तथा अन्तरक्रिया कार्यक्रममा Panelist को रुपमा सहभागी हुनु भएको थियो । छलफलको क्रममा वहाँले निजामती–सैनिक सहयोगको क्षेत्रमा नेपाली सेनाको अनुभवहरु पेश गर्नु भएको थियो । उक्त अवसरमा निजामती–सैनिक सहयोगका आयामहरु र यसका सामुहिक प्रयासका लागि आवश्यक क्षेत्रहरुबारेमा पनि छलफल भएको थियो । ३. यसै गरी, सम्मेलन अवधिमा एशिया प्रशान्त क्षेत्रको सुरक्षा वातावरणमा नै प्रभाव पार्ने प्रकृतिका घटनाहरु र तिनका आयामहरु, मानव सृजित तथा प्राकृतिक प्रकोपहरुमा बहुराष्ट्रिय सहयोगको गुणस्तर अभिबृद्वि तथा सोका लागि असरदार योजना तर्जुमा, समुद्रीय सुरक्षामा अन्तर्राष्ट्रिय सहयोग तथा “हरित बिकास” र यसका लागि राष्ट्रिय सेनाको भूमिकालगायतका विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा समेत वहाँ सहभागी हुनु भएको थियो । ४. सोही सिलसिलामा वहाँले भारत, क्यानाडा, पाकिस्तान, दक्षिण कोरिया, जापान, मालदिभ्स, बंगलादेश, थाईल्याण्ड र श्रीलंकाका सेना प्रमुख तथा प्रतिनिधिहरुसँग भेटघाट गर्नु भएको थियो । भेटको क्रममा वहाँहरुबीच आपसी हित तथा चासोका विषयहरुमा छलफल भएको थियो । ५. त्यस्तै, प्रधानसेनापति महारथी श्री गुरुङ्ग लगायत भारत, श्रीलंका, बंगलादेश, माल्दिभस् र USPACOM का कमाण्डरबीच बहुपक्षीय भेटघाट भएको थियो । उक्त अवसरमा दक्षिण एशियाको समुद्रीय तथा क्षेत्रीय सुरक्षा लगायतका बिषयहरुमा छलफल भएको थियो । ६. सम्मेलनको समाप्ती पछि वहाँको भ्रमण दल भोलि मिति २०६७ कार्तिक ०६ गते बेलुकी स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।