नेपाली सेनाको ध्यानाकर्षण

१.    मिति २०७१ पौष २३ गतेको अन्नपुर्ण पोष्ट दैनिकमा र विभिन्न विद्युतीय संचार माध्यमहरुमा प्रकाशित “माघ ८ : सेना परिचालनको प्रस्ताव” शिर्षकको समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२.    उक्त शिर्षकको समाचारमा प्रकाशित सार अनुसार नभई नेपाली सेना “नेपालको अन्तरिम संविधान २०६३” को धारा १४५ मा भएको व्यवस्था र “सैनिक ऐन २०६३” को परिच्छेद–२ को ‘नेपाली सेनाको स्थापना र व्यवस्था’ को दफा (५) मा व्यवस्था भए बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा निर्दिष्ट विधि र प्रक्रिया अनुसार मात्र देश र जनताको शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय हितको लागि परिचालन हुन सक्ने हुंदा समाचारको सारबाट भ्रमित नहुन आम जनसमुदाय र सम्बन्धित सबै पक्षलाई नेपाली सेना अनुरोध गर्दछ ।