मानव अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

१.    मानव अधिकारको संरक्षण र सम्बर्द्धनका सम्बन्धमा नेपाली सेनाबाट भएका तथा भई रहेको कार्यहरुको सम्बन्धमा आज मिति २०७१ पौष २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. लगायत श्री राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागितामा जंगी अड्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२.    उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिनु हुंदै प्रधानसेनापति श्री राणाले नेपालमा सुरु भएको शसस्त्र द्वन्द्वका कारण सेना परिचालन भएसंगै सकल दर्जाहरुलाई मानव अधिकार सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना प्रति प्रतिवद्ध गराउने हेतुले वि.सं.२०५९ सालमा नेपाली सेनामा मानव अधिकार सम्बन्धी छुट्टै ईकाई गठन भएको बताउनु हुंदै नेपालको अन्तरिम संविधानको धारा १४४ (४) मा समेत मानव अधिकारको मुल्य र मान्यताद्धारा नेपाली सेनालाई प्रशिक्षित गर्ने काम गरिने भन्ने प्रावधान भए बमोजम सैनिक ऐन २०६३ को दफा २० मा उल्लेख भएको कानुनी व्यवस्था बमोजिम नेपाली सेनाले संचालन गर्ने हरेक तालिमहरुमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुन सम्बन्धी विषयबस्तुहरुलाई अनिवार्य रुपमा समावेश गरिंदै आएको बताउनु भएको थियो । साथै, भविष्यमा कानुन बमोमिज सेना परिचलन भएको खण्डमा एक पेशेवर सैनिकको रुपमा मानव अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै मानव अधिकर तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको परिधिभित्र रही सैनिक काम कारवाहीहरु संचालन गर्न नेपाली सेनाका सकल दर्जा सक्षम रहेको जानकारी गराउनु भएको थियो । यसैगरी प्रधानसेनापति श्री राणाले नेपाली सेनामा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनलाई अझ प्रभावकारी रुपमा पालना गराउनका निमित्त नेपाली सेना सधैं कटिवद्ध रहने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

३.    उक्त कार्यक्रममा रक्षा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।