“महाशिवरात्री तथा सेना दिवस २०७१” सम्पन्न

१.    आज मिति २०७१ फाल्गुन ५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ “महाशिवरात्री तथा सेना दिवस २०७१” नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२.    सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवज्यूले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । यसैगरी नेपाली सेनाको सैनिक टुकडीले सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा सम्मान गारत अपर्ण गरेको थियो ।

३.    उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको व्यानर प्रदर्शन, गण तथा गुल्महरुबाट मार्च पास्ट कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानहरुले हवाईजहाजबाट फ्रि–फल जम्प प्रदर्शन गरिएको थियो । सो अवसरमा कवाजले राईफल तथा तोपबाट शिवरात्री बढाइँ समेत गरेको थियो ।

४.    उक्त कार्यक्रमको दौरान राष्ट्रप्रेम युक्त गीत सहितको प्रस्तुति, विभिन्न सैनिक कला प्रदर्शन एवम् मास खुकुरी ड्रिल, महिला सैनिकहरुद्धारा जुम्बा नृत्यमा आधारित शारीरिक अभ्यास समेत प्रर्दशन गरेका थिए । सैनिक व्याण्डका तर्फबाट विभिन्न सांङ्गितिक धुनहरु समेत प्रस्तुत गरिएको थियो ।

५.    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही बार्षिक २०७१” को विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम हुने प्रमुख सेनानी श्री ध्रुव प्रकाश शाह र द्धितिय हुने सु. डिल्ली बहादुर खत्रीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

६.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा प्रधानसेनापति ट्रफि २०७१ मा प्रथम हुन सफल श्री मध्य पृतना हे.क्वा.लाई “प्रधानसेनापति ट्रफि” प्रदान गर्नुका साथै पेशागत प्रतियोगिता २०७१ मा प्रथम हुन सफल श्री पशुपति प्रसाद गणलाई व्यानर समेत प्रदान गनु भएको थियो । यसैगरी, प्रकृति संरक्षण अन्तर्गत गण स्तरमा प्रथम हुन सफल श्री शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा तैनाथ श्री रणबम गण र गुल्म स्तरमा प्रथम हुन सफल श्री कोशी टप्पु बन्यजन्तु आरक्षमा तैनाथ श्री ईन्द्रदल गुल्मलाई प्रकृति संरक्षण ट्रफि प्रदान गर्नु भएको थियो । सोही अवसरमा विगत १ वर्षमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा एवम् गौरव बढाउन प्रशंसनीय कार्य गरी नेपाली सेनालाई उत्कृष्ट योगदान पु¥याउनु हुने रथीबृन्द, अधिकृत, पदिक, अन्यदर्जा र नेपाली सेना संग आवद्ध रही उल्लेखनिय कार्य गर्ने गैर सैनिक व्यक्तिहरु १३१ जनालाई “प्रधानसेनापति प्रशंसा निशान (COAS Commendation Badge)" प्रदान गर्नुका साथै विगत द्वधन्द्वमा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई चार पांग्रे स्कुटर समेत प्रदान गर्नु भएको थियो । 

७.    उक्त कार्यक्रममा सम्माननीय उप–राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संविधानसभाका सम्माननीय सभामुख, सम्माननीय का.मु.प्रधानन्यायाधीश, माननीय उप प्रधानमन्त्रीहरु, माननीय मन्त्रीगणहरु, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, भारतीय स्थल सेनाका पूर्व सेनाध्यक्षहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु लगायत ठुलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।