सि.सं.२१ कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त समारोह सम्पन्न

१.    आज मिति २०७१ फाल्गुन ६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२१ कमाण्ड तथा स्टाफ तालिमको एक विशेष समारोहका वीच दिक्षान्त समारोह सम्पन्न भएको छ ।

२.    उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ३६ जना, सह सेनानी १ जना सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना सहभागी हुनुहुन्थ्यो । मित्रराष्ट्र बंगलादेश, कोरिया, मलेशिया, पाकिस्तान, श्रीलंका, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिकाबाट १/१ जना र मित्रराष्ट्र चीनबाट २ जना गरि जम्मा ९ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ५० जना शिक्षार्थी अधिकृतहरु आज दिक्षित हुनु भएको थियो ।

३.    उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तर्फ नेपाली सेनाका सेनानी सुरज बैदवार प्रथम हुनु भएको छ भने समग्र तालिममा नेपाली सेनाका सेनानी सुवास के.सी. प्रथम हुनु भएको छ । MSS को अध्ययनमा आवश्यक पर्ने सोध पत्र (Thesis Work) अर्थात Commandant"s Paper तर्फ नेपाली सेनाका सेनानी सञ्जय जंग रायमाझी प्रथम हुनु भएको छ ।

४.    उक्त दिक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु हुने नेपाली सेनाका सेनानी सुवास के.सी.लाई  “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (Best Student Award)  प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई psc" (Passed Staff College) प्रमाण-पत्र वितरण गर्नु भएको थियो । यसै गरि त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हिराबहादुर महर्जनले MSS Programme तर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कलेजका शिक्षाधिकृत उप रथी श्री विनोज बस्न्यातले सोधपत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

५.    प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले उक्त दिक्षान्त समारोहलाई सम्वोधन गर्ने क्रममा निरन्तर परिवर्तनशील अन्तर्राष्ट्रिय सामरिक परिवेश आफैंमा जटिल, उतारचढावपूर्ण र खतरायुक्त रहिरहन्छ । तसर्थ यस किसिमको तालिमप्राप्त सैनिक अधिकृतहरुले युद्धका सिद्धान्तहरुलाई अनुसरण गर्दै आजका दिनमा कायरतापुर्ण रुपले संसारलाई प्रभाव पार्ने खालको आतंकवाद विरुद्ध लड्न सक्ने व्यक्ति र समूहको रुपमा स्थापित हुनु एउटा सैनिक अधिकृत र संगठनको आधारभूत आवश्यकता हो भन्नु भयो । त्यसैगरी प्रधानसेनापति राणाले नेपाली सेनाले विगत दोस्रो संविधानसभाको चुनावलाई सम्पन्न गर्न निर्वाह गरेको भूमिकाले नेपालको प्रजातन्त्रलाई दिगो बनाउन मात्र भूमिका खेलेको छैन बल्कि नेपाल र नेपाली सेनाको प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको अटल प्रतिवद्धता र विश्वासलाई समेत स्थापित गर्न सकेको छ । सोही अवसरमा आगामी दिनमा राष्ट्रले प्रदान गर्ने जिम्मेवारीहरुलाई पूरा गर्न नेपाली सेनाको पुनर्ढांचा गर्दै नेपाली सेनालाई लचिलो, प्रतिकृयाशिल र समयानुकुल फौजकोरुपमा तयार गर्न नेपाली सेनाको दीर्घकालीन पुनर्संरचनाको लागि पूर्व कार्यहरु अगाडि बढिरहेका छन् । एउटा पेशेवर सेनाले मात्र प्रजातन्त्रको रक्षा गर्न सक्दछ, वास्तवमा उक्त पक्ष नै राष्ट्रि हीतको सुरक्षा गर्न आवश्यक पूर्वशर्त पनि हो । नेपालकै सबैभन्दा समावेशी संगठनकोरुपमा रहेको नेपाली सेना मानवअधिकारको संरक्षण, शान्ति सुरक्षा कायम गर्न वैधानिक शक्तिको प्रयोग र सामाजिक मूल्य र मान्यताको सम्बद्र्धन गर्दै आएको संस्था हो । तसर्थ यी नै गुणहरुबाट नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा समेत अहम भूमिका निर्वाह गर्दै राष्ट्रिय गौरबलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । सो अवसरमा दिक्षित शिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नुहुंदै उपस्थित सबै महानुभावहरुप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

६.    उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कन्ट्रोलर तथा मानविकि तथा समाजशास्त्र संकायका डिन, बरिष्ठ प्राध्यापकहरु, विदेशी महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पदाधिकारीहरु, विभिन्न विषयका Subject Matter Experts (SME) हरु लगायत नेपाली सेनाका अवकाश प्राप्त तथा सेवारत रथीबृन्दहरु, स्टाफ कलेजका पूर्व कमाण्डाण्टहरु, विदेशी सैनिक सहचारीहरुका साथै शिक्षार्थी अधिकृतका परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।