हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको शुभारम्भ

१.    आज मिति २०७१ फाल्गुन ८ गते नगरकोटस्थित सैनिक शिक्षालयमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सि.सं.२ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको एक बिशेष समारोहका बीच शुभारम्भ गर्नु भएको छ ।

२.    कार्यक्रम शुभारम्भ गर्नुहुंदै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले हालको परिस्थितिमा समयको माग र परिणामलाई सम्बोधन गरी सोको निराकरण गर्न समुचित समन्वय र प्रभावकारी रणनीति आवश्यक भएकाले यस तालिमको महत्व रहेको बताउनु हुंदै देश र जनताको सेवामा सधैं समर्पित रहंदै मुलुकको सार्वभौमिकता, स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ अहम् जिम्मेवारी बोकेको नेपाली सेनाले आफ्नो मुल्य र मान्यता अनुसार हाल जटिल बन्दै गईरहेको सुरक्षा चुनौतिहरुको सुक्ष्म विश्लेषण गर्दै भावी नीति तथा कार्यक्रमहरु योजनाबद्ध तवरले कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

३.    यसैगरी प्रधानसेनापति श्री राणाले वर्तमान र भावी बस्तुस्थितिको महसुस र मुल्याङ्कन गर्दै  नेपाली सेनाले दश वर्षे दिर्घकालिन योजना लागु गरेको र हाल नेपाल सरकारबाट Redesign प्रस्ताव स्विकृत भईसकेको बताउनु हुंदै खासगरी नेतृत्व तह पेशेवर, प्रतिस्पर्धी, समय सापेक्षको साथै शैक्षिक ज्ञान र दक्षताले पूर्ण भएको खण्डमा परिस्थिति अनुकुलको सापेक्ष सैनिक कारवाही सफल हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

४.    उक्त समारोहमा प्रधानसेनापति श्री राणाले सम्बन्धित विभागहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, प्राज्ञहरु, प्राध्यापक वर्ग, अतिथि वक्ताहरु लगायत विभिन्न विषयसग सम्बन्धित विज्ञहरुलाई उहांहरुको योगदानका लागि कृतज्ञता ज्ञापन गर्नुभयो । यसैगरी, उक्त तालिमको प्रथम प्रवचनमा पाल्नु भएका का.मु. रक्षा सचिव लगायत उपस्थित सम्पुर्ण महानुभावहरुप्रति आभार व्यक्त गर्नुहुंदै उक्त तालिम संचालनमा योगदान पु¥याउने सैनिक विनय महानिर्देशनालय लगायत तालिमसंग सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५.    उक्त समारोहको शुरुमा सैनिक विनय महानिर्देशक उपरथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य दिनु भएको थियो भने तालिममा २३ जना महा सेनानीहरु र २ जना प्रमुख सेनानीहरु गरी जम्मा २५ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

६.    साथै, उक्त कार्यक्रममा का.मु.रक्षा सचिव, पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा पूर्व रथीबृन्द, सैनिक शिक्षालयका पूर्व कमाण्डाण्टहरु तथा सेनानी समुह लगायत विभिन्न बिषयका बिज्ञहरुको समेत उपस्थिति रहेको थियो ।