प्रधानसेनापतिद्धारा संयुक्त सैनिक अभ्यास "EX-SURYA KIRAN VIII" को निरीक्षण

१. आज मिति २०७१ फाल्गुन १७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले रुपन्देही जिल्लाको सालझण्डी स्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा संचालन भईरहेको नेपाली सेना र भारतीय सेनाको फौज सम्मिलित संयुक्त सैनिक अभ्यास "EX-SURYA KIRAN-VIII" को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. उक्त अवसरमा प्रधानसेनापति श्री राणालाई नं.२२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री कर्मेन्द्र विक्रम लिम्बुले स्वागत गर्नु भएको थियो भने अभ्यास संयोजक महा सेनानी श्री आनन्द सिंह भाटले अभ्यासको बारेमा विस्तृत रुपमा ब्रिफिङ्ग गर्नु भएको थियो । उक्त निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले दुवै मुलुकका फौजहरुबाट संयुक्त रुपमा विपद् व्यवस्थापन, Booby Traps, Jungle Survival र Convoy Protection सम्बन्धि प्रदर्शन गरिएको अभ्यासको अवलोकन गर्नु भएको थियो । 

३. सोही अवसरमा प्रधानसेनापति श्री राणाले विश्वकै तेश्रो ठुलो स्थल सेनासंग गण तहमा संचालन भएको यस संयुक्त सैनिक अभ्यासबाट थप व्यवहारिक अनुभव र सिप आदान–प्रदान गर्दै नेपाली सेनाले पनि आफ्नो  पेशागत क्षमता अभिबृद्धि गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । साथै, प्रधानसेनापति श्री राणाले संयुक्त अभ्यासमा संलग्न सम्बन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

४. प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु समावेश गरी संचालन हुने यस किसिमको अभ्यास विगतमा मित्रराष्ट्र भारतमा पहिलो, तेश्रो, पांचौं र सातौं संस्करण तथा नेपालमा दोश्रो, चौथो र छैठौं संस्करण संचालन भईसकेको छ । नेपाली सेनाबाट १९४ जना र भारतीय सेनाबाट २७० जना गरी जम्मा ४६४ जना सैनिकहरु सम्मिलित आठौं संस्करणको यो अभ्यास मिति २०७१ फाल्गुन २४ गतेसम्म संचालन हुनेछ । 

५. छिमेकी मुलुकसंग संचालन हुने यस किसिमको संयुक्त सैनिक अभ्यासबाट विभिन्न युद्धकला, सीप एवं सिद्धान्त, प्रक्रिया तथा कार्यविधि (Doctrine, Battle Drills, Tactics, Techniques and Procedures) को बारेमा थप व्यवहारिक अनुभव हासिल गरी भविष्यमा आपसी सहकार्य गर्न ठोस मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।