भर्ना छनौट सम्बन्धी नेपाली सेनाको आग्रह

१.    नेपाली सेनाको वर्तमान दरबन्दीमा रिक्त अमल्दार कर्मचारी, सैन्य (ड्राईभर), सैन्य तथा अन्य पदहरुको निमित्त योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरेको सर्वविदितै छ ।

२.    सैनिक ऐन २०६३ र सैनिक नियमावली २०६९ ले निर्दिष्ट गरेका प्रावधान अनुसार खुल्ला प्रतियोगितामा सहभागी भएर नेपाली सेनाको रिक्त पदमा छनौट भई राष्ट्रको सेवा गर्न पाउने आम नेपाली नागरिकको मौलिक अधिकार हो । सेनाको सम्पुर्ण भर्ना छनौट प्रक्रियाको शुरुवात देखि अन्त्यसम्म लोकसेवा आयोग र रक्षा मन्त्रालयको प्रतिनिधी समेतको रोहवरमा नियमसम्मत छनौट प्रक्रिया सन्चालन हुने गरेको छ । तसर्थ, पदपूर्ति प्रक्रियामा नियमानुसार सरिक उम्मेदवारहरुले आफ्नो योग्यता, क्षमता र उत्कृष्टता प्रदर्शन गरी सेनामा प्रतिस्पर्धात्मक परीक्षाबाट छनौट हुने मौका सुनिश्चित रहेको र नेपाल सरकारको सर्वमान्य सिद्धान्त अनुसार पारदर्शिता, निश्पक्षता र उत्कृष्टतालाई अबलम्बन गरिंदै आएको छ ।

३.    भर्ना छनौट प्रक्रियाका बारेमा विभिन्न समयमा सत्यता भन्दा टाढाको निराधार, अनर्गल तथा भ्रामक टीकाटिप्पणी हुने गरेको विषयमा समय समयमा नेपाली सेनाको ध्यान आकृष्ट हुने गरेको छ । तसर्थ, छनौट प्रक्रियाको कानुनी प्रक्रिया र यसमा हुने पारदर्शिता, निष्पक्षता र ईमान्दारीता भन्दा बाहिर गई व्यक्तिगत तवरमा कोही कसैबाट नियम विपरितका कुनै अवान्छित गतिविधि भएको छ भने स–प्रमाण सहित यस सैनिक जनसम्पर्क निर्देशनालयको (ईमेल armyhq@gmail.com वा टेलिफोन नम्बर ०१–४२४६१४०) मार्फत् सूचित गर्न सकिने व्यवस्था रहेको छ । साथै, यसरी नियम विपरित कोही कसैबाट अवान्छित वा अनियमित क्रियाकलाप भए, गरेको वा गराएको ठहरिएमा कानुन बमोजिम सख्त कारवाही गरिने प्रतिवद्धता समेत नेपाली सेना व्यक्त गर्दछ ।

४.    प्रतिस्पर्धात्मक खुल्ला परीक्षा प्रणालीबाट छनौट हुन ईच्छुक कर्मठ युवाहरुलाई आफ्नो योग्यता, क्षमता, मेहनत र ईमान्दारीतालाई निर्भयताका साथ प्रदर्शन गरी निसंकोच परीक्षामा सक्रिय सहभागिता जनाई आफ्नो क्षमता अनुसारको नतीजा आउनेमा आफु ढुक्क हुन सकिने व्यहोरा सबैमा जानकारी गराईन्छ । तसर्थ, कुनैपनि प्रकारको मिथ्या प्रलोभन र अतिरञ्जित खबरबाट समेत टाढा रहन सम्पुर्ण उम्मेदवारहरु तथा सम्बन्धित सबैलाई नेपाली सेना हार्दिक आग्रह गर्दछ ।