नेपाली शान्ति सैनिकको क्याम्पको पानीमा हैजाका जिवाणु नभएको पुष्टी

१. विगत केही दिनयता हाईटीमा फैलिएको हैजाको जिवाणुको श्रोत मिराबलेमा तैनाथ नेपाली सेनाका शान्ति सैनिकहरुको क्याम्प रहेको भन्ने आरोपहरु गलत साबित भएको छ । २. महामारीका कारण हाईटीका जनताको स्वास्थ्य तथा जनजीवनमा पर्नसक्ने नकारात्मक प्रभावलाई गम्भीरतापूर्वक लिई त्यहाँ तैनाथ United Nations Stablization Mission in Haiti (MINUSTAH) को मुख्यालय र नेपाली कन्टिन्जेन्टले बिस्तृत छानविन गर्नुको साथै नेपाली शान्ति सैनिकको क्याम्प र सो क्याम्प वरपरका पानीहरु संकलन गरी एक स्वतन्त्र प्रयोगशालामा पठाई सूक्ष्म रुपमा परिक्षण गरिएको थियो । सोही सिलसिलामा मिति २०६७ कार्तिक ०५ गते (२२ अक्टोबर २०१०) र ऐ कार्तिक ०९ गते (२६ अक्टोबर २०१०) ती संकलित पानीहरुको परिक्षण गरेको थियो । ती सम्पूर्ण परिक्षणहरुबाट पानीमा हैजाको जिवाणु नरहेको प्रमाणित भएको थियो । यसैगरि, मिशनका फोर्श कमाण्डरको विशेष अनुरोधमा ऐ.कार्तिक १० गते (२७ अक्टोबर २०१०) मा पुनः संभावित स्थानका नमूनाहरु संकलन गरी परिक्षण गरिएको थियो । सो परिक्षणमा समेत हैजाको कुनै जिवाणु पाइएको थिएन । ३. शान्ति सेनामा सहभागी नेपाली सेनाका सबै व्यक्तिहरुको पूर्णरुपमा स्वास्थ्य परिक्षण हुने र अस्वस्थ व्यक्तिहरुलाई सहभागिता नगराईने नीति रहेको छ । हाईटीमा हैजाको प्रकोप देखिएलगत्तै त्यहाँ तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो समयमा झाडापखाला तथा हैजासँग सम्बन्धित कुनैपनि बिरामीहरु रहेका थिएनन् र हाल पनि रहेका छैनन् । ४. अनपेक्षित ढंगबाट महामारीको रुपमा फैलिएको हैजा नियन्त्रण गर्न संयुक्त राष्ट्र संघ र मिशन मुख्यालय तथा हाईटी सरकारलाई सहयोग गर्न नेपाली सेना र हाईटीमा तैनाथ नेपाली शान्ति सैनिक प्रतिबद्ध रहेको जानकारी गराईन्छ ।