"प्यारा स्वर्ण महोत्सव-२०७१" सम्पन्न

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा महाराजगञ्जस्थित लक्ष्मीनिवास हाताभित्र रहेका श्री नं. १० बाहिनी अड्डा, श्री भैरवनाथ गण, श्री युद्धभैरव गण र श्री प्यारा तालिम शिक्षालयले नेपाली सेनामा प्यारा अंग स्थापना भएको ५० औं बार्षिकोत्सव अर्थात "प्यारा स्वर्ण महोत्सव-२०७१" मिति २०७१-१२-०८ गते विशेष कार्यक्रमकासाथ सम्पन्न भएको छ ।

२.    उक्त "प्यारा स्वर्ण महोत्सव-२०७१" मा प्रधानसेनापति श्री राणाले नेपाली सेनामा प्यारा अंग स्थापना भएको ५० औं बार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको विशेष केक काट्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति श्री राणाले प्यारा अंग स्थापना गर्न महत्वपूर्ण भूमिका खेली पहिलो टोलीमा ईजरायल जाने तत्कालिन उ.से. (अवकास प्राप्त सहायक रथी) श्री चिनिया बहादुर बस्न्यात लगायत १५ जनाको टोली तथा महत्वपुर्ण सहयोग प्रदान गर्ने ईजरायली डिफेन्स फोर्स (IDF) लाई सम्मान पत्र प्रदान गरि कदर गर्नु भएको थियो ।

३.    सोही महोत्सवको सिलसिलामा श्री नं. १० बाहिनी अड्डाका बाहिनीपतिले स्वागत मन्तव्य दिनु भएको थियो भने सो कार्यक्रम पूर्व श्री प्यारा तालिम शिक्षालयका शिक्षाधिकृतले विधिवत रुपमा झण्डोत्तोलन गर्नु भएको थियो । त्यसैगरी श्री भैरवनाथ गण परिसरमा स्थापना गरिएको श्री भैरवनाथको मन्दिरमा वार्षिकोत्सव पूजा अर्चना र कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने सकलदर्जाहरुको सम्मानमा स्थापित "प्यारा स्मारक" मा माल्यापर्ण कार्यक्रम सम्पन्न भएको थियो ।

४.    उक्त कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, इजरायली राजदुतावासका बिशिष्ट अतिथि, प्यारा अंग स्थापना गर्न महत्वपूर्ण योगदान दिनुहुने महानुभावहरु लगायत नेपाली सेनाका अधिकृत तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

५.    नेपाली सेनाको समयानुकुल, आधुनिकिकरण तथा सुदृढिकरण गर्ने सिलसिलामा प्यारा अंगलाई एयरवोर्न रोल तथा प्यारा जम्प सम्बन्धी तालिम प्रदान गर्नको लागि स्थापना भएको नेपाली सेनाको श्री प्यारा तालिम शिक्षालयले हालसम्म स्वदेशी तथा विदेशी गरी ७१७४ जनालाई प्यारा बेशिक र १४८ जनालाई जम्प माष्टर तालिम प्रदान गरिसकेको छ ।