सैनिक कमाण्ड तथा स्टाफ तालिमको प्रथम प्रवचन सम्पन्न

१. श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आज मिति २०७२ बैशाख ३ गते एक विशेष समारोहकाबीच बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले सि.सं. २२ कमाण्ड तथा स्टाफ तालिमको प्रथम प्रवचन गर्नुभयो ।
२. सो अवसरमा बलाधिकृत रथी श्री राणाले शिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुंदै बिद्यमान परिवर्तित सुरक्षाका चुनौतीहरुलाई सामना गर्न हामीले लडाईको प्रकार तथा खाकालाई पहिला नै सुक्ष्म अध्ययन गरी नयां ढंगको सोच एवम् दुरदर्शिताको विकास गर्नुपर्ने बताउनु हुंदै सोे को लागि यस कमाण्ड तथा स्टाफ तालिममा सहभागि हुने मध्यमतहको अधिकृतहरुले सिकेको ज्ञानको आधारमा भविष्यमा महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । साथै सम्बोधनको क्रममा वहांले यस तालिमबाट कुनैपनि परिस्थितिबाट उत्पन्न हुनसक्ने द्वन्दको सम्पूर्ण सीमालाई राम्रोसंग बुझ्न सकिने तथा आफ्नो अन्तिम लक्ष्य प्राप्त गर्ने क्षमताको विकास हुने अपेक्षा समेत राख्नु भएको थियो । यसै गरि बलाधिकृत रथी श्री राणाले शिक्षार्धी अधिकृतहरुले आफ्नो पेशागत क्षमताको अभिबृद्धि गर्न यस तालिम महत्वपुर्ण हुने बिश्वास समेत व्यक्त गर्नु भएको थियो ।  
३. बलाधिकृत रथी श्री राणाले स्टाफ कलेज प्रवेश परीक्षा उत्तीर्ण गरी यस तालिममा सहभागी हुनु भएका नेपाली सेनाका अधिकृतहरुलाई बधाई दिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा मित्रराष्ट्रका सैनिक अधिकृतहरुलाई तालिमको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।  
४. उक्त तालिममा नेपाली सेनाका तर्फबाट ३८ जना सेनानीहरु तथा ४ जना 
सह सेनानीहरु, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरीबलबाट २ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धानका तर्फबाट १ जना प्रमुख अनुसन्धान अधिकृत लगायत मित्रराष्ट्र भारत, बंगलादेश, मलेशिया, पाकिस्तान, श्रीलंका, र संयुक्त राज्य अमेरिकाका १÷१ जना गरी जम्मा ५२ जना शिक्षार्थीहरु उक्त तालिममा सहभागी रहेका छन् ।
५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु, पूर्व शिक्षाधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, नेपाल स्थित बिदेशी नियोगका सहचारीहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुको परिवारजन, महिला तथा सज्जनवृन्दहरुको उपस्थिती रहेको थियो ।