भूतपूर्व सैनिक सम्मेलन पश्चिमाञ्चल २०७२ सम्पन्न स्वास्थ्य शिविर सञ्चालन तथा लघुवित्त कार्यक्रमको थालनी


१. प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यतामा ‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल) २०७२’ सम्पन्न भएको छ ।
२. पश्चिमाञ्चलका ३ वटा केन्द्रहरुमा प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले बैशाख ७ गते बुटबलमा, ८ गते खैरेनीटार तनहुँमा र ९ गते पोखरामा भव्य समारोहकाबीच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । 
३. उद्घाटनका क्रममा प्रधान सेनापति महारथी श्री ज.ब.रा.ले नेपाल एकीकरणको अभियानदेखिनै नेपाली सेना राष्ट्रप्रतिको अटुट योगदानका कारण नेपाली समाजमा एक भरपर्दाे शक्तिका रुपमा स्थापित भएको बताउनु भयो । उहाँले चूनौतिपूर्ण क्षणहरुमा पनि आफ्नो कर्तव्यपथमा अविचलित रही निरन्तर नेपाल र नेपालीको सेवामा खट्टिदै आएको नेपाली सेना अब समय सापेक्षरुपमा राष्ट्रको उत्थानमा समर्पित हुन आवश्यक भएकोमा जोड दिनुभयो ।
४. सैनिक कल्याणकारी कोष स्थापनाको पृष्ठभूमि स्मरण गर्दै उहाँले नेपाली सेनाबाट संयुक्त राष्ट्रसंघको आह्वानमा इजिप्टको साइनाईमा पुरानो गोरख गण सहभागी भई स्वदेश फर्केपछि २०३२ सालमा सकलदर्जाको रगत पसिनाबाट आर्जित १ करोड २४ लाख १ हजार रुपैंयाँबाट शुरु भएको “सैनिक कल्याणकारी कोष” अवकाश प्राप्त सैनिक तथा बहालवाला सकलदर्जाको अथक प्रयासस्वरुप २०७१ साल माघ मसान्तसम्ममा कोषअन्तर्गत स्थापना भएका निकायहरुमा गरिएको करीब २ अर्ब ७४ करोडको लगानीसमेत गरी कोषको कूल मौज्दात धनराशी करिब रु.३१ अर्ब ७३ करोड पुग्न गएको जानकारी गराउनु भयो ।
५. प्रधान सेनापति श्री ज.ब.रा.ले सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, व्यावसायिक तालिम र वैकल्पिक रोजगारीलाई विशेष जोड दिँदै हिताधिकारीहरुको आर्थिकस्तर अभिवृद्धिको लागि लघुवित्त कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएको बताउनु भयो । शान्ति सेनामा सहभागी हुने नेपाली सैनिकहरुको संख्या करिब १ लाख ६ हजार पुगेको तथ्य उल्लेख गर्नुहुँदै प्रधान सेनापति श्री ज.ब.रा.ले नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिकहरु एवं तिनका परिवारहरुसमेत गरी हिताधिकारीहरुको संख्या करिब आठ लाख पुगेको उल्लेख गर्नु भयो ।
६. दिनप्रतिदिन बढ्दै जाने हिताधिकारीहरुको भावना र चाहनालाई समेट्ने, आर्थिकरुपमा सम्भावित कल्याणकारी कार्यक्रमहरु प्राथामिकताकासाथ सञ्चालनमा ल्याइएको धारणा राख्नु हुँदै प्रधान सेनापति श्री ज.ब.रा.ले यसलाई अझ सार्थकता प्रदान गर्न सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको मातहतमा रहने गरी २०७० साल असोज महिनाबाट बहालावाला, अवकाश प्राप्त सैनिक तथा सम्बन्धित विषयका विज्ञहरु समावेश गरी ‘‘नेपाली सेना कल्याणकारी बोर्ड’’ को गठन गरी सञ्चालनमा आएको जानकारी गराउनु भयो । २०७० सालमा गठन भएको सैनिक कल्याणकारी बोर्डले स्थापनाको उद्देश्यअनुरुप देशका कुनाकाप्चामा छरिएर रहेका हिताधिकारीहरुको जीवनस्तर सुधार्न अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको सहकार्यमा देशको पाँचै विकास क्षेत्रमा लागु गरिएको लघुवित्त कार्यक्रम एक अनुपम उदाहरण हुन पुगेको विचार व्यक्त गर्नु भयो ।
७. सम्मेलनको दौरान कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको संयुक्त सहकार्यमा व्यक्तिगतरुपमा विभिन्न लघु–व्यवसाय सञ्चालन गर्न सञ्चालित लघुवित्त आयोजनामा सहभागी हुने पश्चिमाञ्चलका पूर्व सैनिकहरुलाई बित्तीय प्याकेज प्रदान गरिएको छ । जसअन्तर्गत बुटवलमा ५ जनालाई, खैरेनीटारमा ५ जनालाई र पोखरामा ५ जनासमेत गरी कूल १५ जनालाई प्रधान सेनापति श्री ज.ब.रा र नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो । 
८. सम्मेलनकै क्रममा प्रधान सेनापति महारथी श्री ज.ब.रा.ले शारीरिकरुपमा अशक्त सैनिक तथा गैरसैनिक व्यक्तिहरुलाई ह्वील चियर प्रदान गर्नुभएको थियो । प्रधान सेनापतिबाट ह्वील चियर प्राप्त गर्नेहरुमा बुटवलमा ४ जना, खैरेनीटारमा ३ जना र पोखरामा ४ जना रहेका छन् । सोही क्रममा उहाँले तीनवटै सम्मेलन केन्द्रमा उपस्थित भूतपूर्व सैनिकहरुसँग अन्तत्र्रिmया गरी पीरमर्का बुझ्नु हुँदै रायसुझाव लिनुभएको थियो । 
९. समारोहको तीनवटै भू.पू.सम्मेलन केन्द्रहरुमा बलाध्यक्ष रथी श्री राजेन्द्र क्षेत्रीले समापन मन्तव्य दिनुभएको थियो । सो क्रममा उहाँले कल्याणकारी गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न भएगरेका प्रयास बारे जानकारी दिनु भएको थियो ।
१०. समारोहमा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत अवकाश प्राप्त रथी श्री चित्र बहादुर गुरुङ्गले कल्याणकारी बोर्डको औचित्य, स्थापनायताका बोर्डको गतिविधि र भावी योजनाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । 
११. बुटवलमा भएको सम्मेलनमा भू.पू. सैनिकहरुको तर्फबाट अवकाश प्राप्त मानार्थ रथी यादव बहादुर रायमाझीले, खैरेनीटारमा अवकाश प्राप्त उपरथी श्री तारा बहादुर थापाले, तथा पोखरामा अवकाश प्राप्त रथी श्री शान्त कुमार मल्लले कल्याणकारी बोर्डले सञ्चालन गरेका कार्यक्रमहरुले भूतपूर्व सैनिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
१२. सम्मेलनको मूल समारोहका क्रममा भूतपूर्व सैनिकहरुको टोलीले तीनवटै केन्द्रहरुमा मार्चपाष्ट प्रस्तुत गरिएको थियो । यसैगरि तीनवटै सम्मेलन केन्द्रमा सहभागी पूर्वसैनिकहरुले जिल्लागतरुपमा आ–आप्mनो जिल्लाको ब्यानर बोकेर स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालित सो सम्मेलनअन्तर्गत बुटवल केन्द्रमा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्खाखाची जिल्लासमेत गरी ६ जिल्लाका २३५७ जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । 
१३. यसैगरी खैरेनीटार केन्द्रमा तनहुँ, लमजुङ र गोरखा जिल्लासमेत गरी कूल ३ जिल्लाका ४११५ जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । यस्तै, पोखरा केन्द्रमा मनाङ, स्याङजा, कास्की, पर्वत, मुस्ताङ, म्याग्दी र बाग्लुङ जिल्लासमेत गरी ७ वटा जिल्लाका १५५१ जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । 
१४. उक्त सम्मेलनको क्रममा ३ दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरिमा भू.पू., बहालवाला सैनिक तथा तीनका परिवारसमेत गरी बुटवलमा १४९५ जना, खैरेनीटार केन्द्रमा ११८७ जना र पोखरा केन्द्रमा १४०० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।
१५. सम्मेलनको मूल समारोह हुनुभन्दा अघिल्लो दिन बुटबलमा बैशाख ६ गते, खैरेनीटारमा ७ गते र पोखरामा ८ गते सैनिक कल्याणकारी कोषको वर्तमान अवस्था, हाल कोषमा मौज्दात रकम, खर्च गर्ने प्रक्रिया, आयस्रोत तथा खर्च हुने शिर्षकहरु, वर्तमानमा सञ्चालित कल्याणकारी कार्यहरु र भावी योजनाबारे जानकारी गराइएको थियो । सोही दिन नेपाली सेनाको विकासक्रम, हालको अवस्था, फौजको संख्या, विभिन्न समयमा सेनाले पु¥याएको योगदान आदिबारे समेत वृत्तचित्र प्रदर्शन गरी जानकारी प्रदान गरिएको थियो । सम्मेलनको दौरानमा नयाँ उपचार पुस्तिका बनाउने तथा पुरानो उपचार पुस्तिका नविकरण गर्ने, भूतपूर्व सैनिक परिचय–पत्र वितरण, कानुनी परामर्श सेवा, जेष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण परिचय–पत्र, एकल महिला निवृत्तिभरण परिचय–पत्र लगायतका सेवाहरु उपलब्ध गराइएको थियो । 
१६. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको हो । सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिअन्तर्गत रहने गरी २०७० असोज २१ गते कल्याणकारी बोर्डको स्थापना भएको थियो । 
१७. यस किसिमको सम्मेलनले अवकाश प्राप्त सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र उहाँहरुको राय सुझावहरु लिई उपयुक्त रचनात्मक सुझावहरु लागु गर्ने कार्यले प्राथमिकता पाउने तथा समग्र बहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न नेपाली सेना सक्षम हुने विश्वास लिइएको छ ।