नेपाली सेनाद्वारा उद्धार कार्य जारी

१. मिति २०७२ बैशाख १२ गतेको करीब १२०० बजे अकस्मात आएको शक्तिशाली भुकम्पबाट प्रभावित जनताहरुको उद्धार तथा राहत कार्यमा नेपाली सेना लगायत मित्रराष्ट्रबाट प्राप्त सहयोग तथा जनशक्तिलाई अधिकतम रुपमा प्रयोग गरी तदारुकताकासाथ खोजतलास तथा उद्धार कार्यलाई  प्राथमिकता दिई परिचालन गरिएको छ । 
२. नेपाली सेनाले आफुसंग भएको सम्पूर्ण श्रोत साधनको अधिकतम परिचालन गरि खोज, उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अहोरात्र खट्टिईरहेको छ । यसैअनुरुप नेपाली सेनाको हेलिकप्टरहरुबाट प्रभावित स्थानहरुको प्रारम्भिक क्षती मूल्यांकनको कार्य भैरहेको र प्राथमिकताका साथ घाईते बिरामीहरु तथा भग्नाबशेषहरुमा थुनिएका ब्यक्तिहरुको उद्धार एवम् उपचारको कार्य जारीरहेको छ । नेपाली सेनाले नेपाल सरकारका विभिन्न निकायहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु, अन्य सुरक्षा निकायहरु एवम् स्थानिय स्वयंसेवकहरुसंगको समन्वय तथा सहकार्यमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ ।
३. यसैगरी नेपाली सेनालाई नेपाल सरकारको आव्हानमा खोज, उद्धार तथा राहत कार्यमा बिदेशी सेनाबाट प्राप्त भएको सहायताको समन्वय, सन्चालन तथा त्यसलाई नियमन गर्ने कार्र्यको जिम्मेवारी प्राप्त भए अनुरुप विपदको समयमा भत्किएका भौतिक संरचनाबाट खोज तथा उद्धार गर्ने टोली, मेडिकल र अन्य राहतका सामाग्री सहित मित्रराष्ट्रका सेनाको बिशेषज्ञ टोलीलाई बिभिन्न स्थानहरुमा परिचालन गरिएको छ । हालसम्म मित्रराष्ट्र भारत, चीन, टर्की, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट सेनाको दक्ष टोलीहरु नेपाल आई खोज तथा उद्धार कार्य शुरुवात गरिसकेका छन् भने अन्य केहि मित्र राष्ट्रहरुबाट दक्ष टोलीहरु आउने क्रममा रहेको छ ।  
४. नेपाली सेनाले क्षतीग्रस्त ईलाकाको मूल्यांकन गर्दै आवश्यकताको पहिचान गरी खोज तथा उद्धार कार्य जारी राखेको छ भने आज देशका बिभिन्न भुकम्प प्राभावित ईलाकाहरुमा खोजी कार्य तथा थप मेडिकल टिम परिचालन गरिएको छ । आज नेपाली सेनाको तथा मित्रराष्ट्र भारतीय वायु सेनाको हेलिकप्टरहरु प्रयोग गरी गोरखाको वारपाकबाट ९ जना, धादिङ, सल्यानटार र गजुरीबाट गरी ५८ जना यसैगरी धुन्चेबाट १४ जना विदेशी सहित १८ जना नेपालीहरुलाई उद्धार गरी काठमाण्डौ ल्याईएको छ भने चिसापानीबाट ५ जना बिरामी सहित १ जनाको शव र मेलम्चीबाट १८ जना वीरामीलाई वीरेन्द्र अस्पताल ल्याईएको छ । यसैगरी लामाबगरबाट ४ जना र चरिकोटबाट १६ जना वीरामीलाई उद्धार गरिएको छ भने झार्लिङबाट ३८ जना र आरुघाटबाट २६ जनालाई धादिङबेशी ल्याईएको र सो मध्ये १ जना बिरामीलाई वीरेन्द्र अस्पताल छाउनी पु¥याईएको छ । यसैगरी पोखराबाट ४०० थान पाल र ४०० थान मण्डी वारपाक पु¥याईनुका साथै ११९० के.जि. राहत सामाग्री समेत गोरखा पु¥याईएको छ । 
५. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको यस राष्ट्रिय विपदको कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जीउधनको सुरक्षार्थ समर्पित रहेको बिश्वास दिलाउन चाहन्छ ।