नेपाली सेनाद्वारा उद्धार तथा राहत सामाग्री वितरण


१. भुकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेना लगायत मित्रराष्ट्रहरुबाट प्राप्त सहयोग तथा जनशक्तिलाई अधिकतम रुपमा प्रयोग गरी निरन्तररुपमा आज चौथो दिन पनि प्राथमिकताकासाथ खोज, उद्धार तथा राहत कार्यलाई जारी राखिएको छ । 

२. खोजतलास तथा उद्वार कार्यलाई समन्वयात्मक एवम् प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले माननीय सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि श्री दिपक अमात्य, अमेरिकी महामहिम राजदुत श्री पिटर डब्लु डि बोडे, भारतिय महामहिम राजदुत श्री रन्जित रायसंग भेटघाट गर्नु भएको छ । त्यसै गरि आजै प्रधानसेनापति श्री राणासंग नेपाल स्थित पाकिस्तानी सैनिक सहचारी कर्णले सयद अब्बास अलि, National Disaster Response Force  का Director General श्री ओपि सिंह, ब्रिटिस सैनिक सहचारी Colonel Sean Harris  र चिनियाँ सैनिक सहचारी Sr. Colonel Liu Xiaguang  सँग भेटवार्ता गर्नु भएको छ । 

३.  हालसम्म उद्धारको क्रममा नेपाली सेना तथा भारतीय सेनाको हेलिकप्टरद्वारा रसुवा, गोरखा, धादिङ्ग, नुवाकोट, दोलखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकका बिभिन्न स्थानहरुबाट ७०३ घाईते बिरामीहरुलाई उद्धार गरिएको छ । यसैगरि गाडीद्धारा तथा पैदल परिचालित अन्य फौजले बिभिन्न स्थानबाट १५७ जनाको सकुशल उद्धार गरेको छ भने ८० जनाको शव निकालेको छ । यसैगरि पिडीतहरुलाई राहत बितरण गर्ने कार्यलाई पनि जारी राखिएको छ । यस क्रममा नेपाली सेनाको जंगी असवाव खानामा भएको मौज्दातबाट बितरण गरिएको राहत सामग्रीहरुमा विभिन्न प्रकारका पालहरु ५३ गोटा, १८० पौण्ड पाल  ४६८ सेट, स्वीस कटेज पाल ६ सेट, सायर २३५ मुठा, क्लाठ ७८ मुठा, टाटपोलिन २८ गोटा, डकटेन्ट गोटा १९ र अमेरिकन पाल गोटा २ रहेको छ । त्यसैगरि भुकम्प पिडितहरुलाई शुद्ध पिउने पानी बितरण गर्ने हेतुले नेपाली सेनाको १३ वटा ट्यांकरद्धारा २७  स्थानहरुमा वाटर प्वाईण्ट खडा गरि २ लाख ३४ हजार लिटर पानी बितरण गरेको छ । 
४. हालसम्म प्राप्त अन्तराष्ट्रिय मेडिकल सहयोगमा भारतबाट आएको मेडिकल टिमले राजदल गण लगनखेल र सिनामंगलमा, पाकिस्तानबाट आएको मेडिकल टिमले सल्लाघारी भक्तपुरमा, श्रीलंकाबाट आएको मेडिकल टिमले दोलालघाटमा, बंगलादेशबाट आएको मेडिकल टिमले ललितपुरको खोकनामा र चीनबाट आएको मेडिकल टिमले धुलिखेल र उपत्यका पृतना हे.क्वा.मा भुकम्पबाट घाईते भएका व्यक्तिहरुको उपचार गरिरहेको छन् । उक्त क्षेत्रमा नजिक रहेका भुकम्प पिडित घाईतेहरुलाई उपचारको निमिक्त आ–आफ्नो पायक पर्ने नजिकको ईलाकामा सम्पर्क राख्नु हुन नेपाली सेना अनुरोध गर्दछ । 

५. हालसम्म प्राप्त अन्तराष्ट्रिय CSSR  सहयोगमा भारतबाट आएको स्पेशल रेस्क्यु टिम र डग टिमले बालाजु, बसुन्धरा, शोभाभगवती चौमती, सितापाइला र धरहरा इलाकामा खोज तथा उद्वार कार्य गरेको तथा बालाजु बाइसधाराबाट दुई वटा शव निकालेको । श्रीलंकाबाट आएको टोलीले झुम्लुटार–६ काभ्रे पुरानो बजार, चीनबाट आएको सर्च एण्ड रेस्क्यु टिमले बालाजु, गणेशस्थान, गोंगबु, डल्लु, काठमाडौं दरवार स्क्वायर, कपन र नक्खु ईलाकामा खोजी तथा उद्धार कार्य गरि रहेको । साथै उक्त खोजी कार्यमा बालाजुबाट एक जना युवकलाई जिवितै उद्वार गरिएको । टर्कीबाट आएको सर्च एण्ड रेस्क्यु टिमले करदाता कार्यालय, बालुवाटार, ग्रिनल्याण्ड होटेल महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल र काभ्रेपलाञ्चोकमा, नेदरल्याण्डबाट आएको स्नीफर सहितको रेस्क्यु टिमले नमुना टोल धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, ठमेल, बजेट होटेलमा,  पोल्याण्डबाट आएको फायर फाईटिङ्गसहितको रेस्क्यु टिमले गरुडकुण्ड र कमल विनायकमा, जर्मनबाट आएको टिमले वि.सि.जि. होटल र सुन्दरीजलमा, बेलायतबाट आएको टिमले सिन्धुपाल्चोकमा, फ्रान्सको टिमले कालीमाटीमा, इजरायलको टिमले गोंगबु, JICA  तथा मलेशियाले हनुमानढोकामा, पाकिस्तानको टिमले भक्तपुर र दधिकोटमा र अमेरिकी टिमले रसुवा र माछापोखरीमा  खोजतलास तथा उद्वार कार्य गरिरहेको छ । 

६. आज बैशाख १५ गते खोजतलास तथा उद्वार कार्यको शिलशिलामा नेपाली सेनाको हवाई सेवाले कुल १८ ओटा उडान गरेको छ भने १०८ जनाको उद्वार र ४९५० के.जी. राहत सामग्री ढुवानी गरेको छ । यसैगरि भारतिय वायुसेवाले ५ ओटा उडान गरेको छ भने ३२ जनाको उद्वार तथा ३९५० के.जी. राहत सामग्री ढुवानी गरेको छ ।
७. नेपाली सेनाले भोली पनि खोज एवम् उद्धार कार्य, राहत सामाग्री वितरण तथा औषधी उपचार सेवालाई निरन्तर जारी राख्नेछ ।

८. भुकम्पबाट पिडित देशवासीहरुलार्ई राहत वितरण गर्ने क्रममा भोलि बैशाख १६ गते पाकिस्तानद्वारा भक्तपुर जिल्लामा २०० प्याकेट MRE (Meal Ready to Eat)  वितरणको साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २०० थान टेन्ट र १००० थान ब्ल्याङ्केट रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यसैगरि चीनले भोली बैशाख १६ गते आफ्नो दुईवटा हेलिकप्टरद्वारा रसुवागढीस्थित चिलिमे हाइड्रोपावरमा रहेका आफ्ना  नागरिकलाई उद्वार गर्ने र अमेरिकन हेलिकप्टर ग्राउन्ड ह्याण्डलर टिम सहित नेपाल आउने योजना रहेको छ । 
९. नेपाली सेना समस्त देशवासीहरुलाई परेको दुखको यस घडीमा आफ्नो श्रोत साधन र शक्तिले भ्याएसम्मको  सेवा पु¥याउन हरसम्भव प्रयत्न गरिरहेको छ, यसै शिलशिलामा सहयोग पु¥याउन यदि कोहि कसैलाई तत्काल अति आवश्यक परेको खण्डमा श्री सैनिक जनसम्पर्क निर्देशनालयको मोवाइल नम्बरमा ०१४२४२९४६ वा ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन आह्वान गर्दछ ।