नेपाली सेनाद्वारा खोज, उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ बैशाख २९ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत पु¥याउने तथा भग्नाबशेष हटाउने कार्यलाई निरन्तररुपमा कार्य सम्पादन गर्दै आईरहेको छ ।
२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.सँग भारतको नयाँ दिल्लीस्थित Embassy of Hungary का महामहिम राजदुत Mr. Szilveszter Busले जंगी अड्डा परिसरमा शिष्टाचार भेटघाट गर्नुभएको छ । उक्त कार्यक्रममा प्रधानसेनापति श्री राणाले भुकम्प पिडीतहरुको लागि खोज, उद्धार तथा राहत सामाग्री बितरण गर्न हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी गराईएको एवम् नेपाली सेनाले अपनाएको विपद व्यवस्थापन प्रणालीको बारेमा जंगी अड्डा परिसरमा प्रत्यक्ष अवलोकन समेत गराईएको थियो ।  
३. आज मिति २०७२/०१/२९ गते मध्यान्ह गएको शक्तिशाली भूकम्पबाट पुनः विभिन्न स्थानहरुमा मानवीय तथा भौतीक क्षति भएको अवस्थामा नेपाली सेना स्थानीय स्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप तत्काल जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा खोज तथा उद्धार कार्यको निमित्त तत्कालीन खट्टिएको फौज तथा थप फौजलाई बृहत रुपमा यथासिघ्र परिचालन गरिएको छ । यसै अनुरुप नेपाली सेनाको हेलिकप्टरहरुबाट प्रभावित स्थानहरुको प्रारम्भिक क्षतिको मुल्यांकनको कार्य भईरहेको र प्राथमिकताका साथ घाईते बिरामीहरु तथा भग्नावशेषहरुमा थुनिएका व्यक्तिहरुको उद्धार एवं उपचारको कार्य जारी राखीएको छ । नेपाली सेनाले मित्रराष्ट्र तथा नेपाल सरकारका अन्य सुरक्षा  निकायहरु एवं स्थानीय स्वयं सेवकहरुसंगको समन्वय तथा सहकार्यमा खोज तथा उद्धार कार्य गर्नमा बिशेष जोड दिएको छ । 
४. नेपाली सेना तथा मित्रराष्ट्रका भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलले आज पनि काठमाण्डौ जिल्लाको काष्ठमाण्डप, जैसिदेवल, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पशुपतिनाथस्थित गोरख क्षेत्र, शंखमूलस्थित जगतनारायण मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र र चाँगुनारायण मन्दिर ईलाकाहरुमा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउने र पुरातात्वीक महत्वका सामानहरु सुरक्षित तवरले निकाल्ने कार्य गरिरहेका छन् । नेपाली सेनाले आजपनि उपत्यकाका बिभिन्न केन्द्रहरुमा पानी ट्यांकरहरुद्वारा खानेपानी वितरण गरेको छ ।
५. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र रसुवा जिल्लाको धुन्चे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । त्यसैगरी अन्य मित्रराष्ट्रहरुका मेडिकल टिमले टुँडिखेल, सतुङगल, त्रिशुली, सिनामंगल, सिंहदरबार, सल्लाघारी, भक्तपुर र सिन्धुपाल्चोक जिल्लाको सुकुटे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । साथै नेपाली सेना तथा मित्रराष्ट्र चीनको संयोजकत्वमा रहेको महामारी नियन्त्रण टोलीले सिन्धुपाल्चोक जिल्लाको चौतारा तथा बिभिन्न प्रभावित स्थानहरुमा महामारी नियन्त्रण र खतरा मुल्यांकन कार्यक्रम संचालन गरेको छ भने बिभिन्न स्थानबाट ल्याईएको शवहरुबाट महामारी तथा संक्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा स्प्रे टिम स्ट्याण्डवाई राखिएको छ । 

६. आज २०७२ बैशाख २९ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीद्वारा २१,८१९ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । त्यस्तै नेपाली सेनाले श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी हालसम्म १०२९ जनालाई उपचार गरिसकेको, २८३ जनालाई अपरेशन गरेको र हालसम्म २४८ जनालाई हेलिकप्टरबाट ईभ्याकूयशन गरि उपचारको निमित्त वीरेन्द्र अस्पतालमा ल्याईएको थियो ।  
७. बिभिन्न मित्रराष्ट्रहरुबाट आएका खोज तथा उद्धार टोली फिर्ता हुने क्रममा आज   मिति २०७२/०१/२९ गते दिउँसो सम्ममा १९९१ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भइसकेका छन् । 
८. नेपाली सेना समस्त देश र देशबासी माथि पुनः आजपनि आईपरेको बिपत्को कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जिउधनको सुरक्षार्थ कटिबद्ध एवं समर्पित रहेको बिश्वास दिलाउन चाहन्छ ।