मिति २०७२।१।२९ गते आएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त ईलाकाहरुमा नेपाली सेना खोज एवम् उद्धार कार्यमा व्यस्त 

१. हिजो मिति २०७२ बैशाख २९ गते मंगलवार मध्यान्ह १२ बजे र ५० मिनेटमा दोलखा(सिन्धुपाल्चोकको सिमानालाई केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गई ठुलो मात्रामा जनधनको क्षति हुनासाथ तत्काल नेपाली सेनाले भूकम्पको केन्द्रविन्दु रहेको दोलखा र सिन्धुपाल्चोकमा खोज एवम् उद्धार कार्यलाई प्राथमिकतामा राखि खोज एवम् उद्धार कार्य गरीरहेको छ ।  
२. हिजै शक्तिशाली भूकम्प गएपश्चात् तत्काल भूकम्पबाट भएको क्षतिको हवाई अवलोकन गरी क्षतिको मूल्यांकन गर्ने काम भएको एवम् प्राथमिकतामा बढी क्षति भएको दोलखा र सिन्धुपाल्चोक जिल्लाहरुमा आफ्नो तथा मित्रराष्ट्रहरुको श्रोत तथा साधनहरुको अधिकतम परिचालन गरी हिजो अबेर रातीसम्म खोज एवम् उद्धार कार्यलाई तिव्रता दिएको छ । तत्कालै नेपाली सेनाले दोलखा जिल्लामा खोज एवम् उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अन्यत्रबाट थप फौज समेत परिचालित गरिसकेको छ ।

३. यसैगरी हिजो बैशाख २९ गते दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको US Marine Corps  को    UH-1Y Huey   हेलिकप्टर दिउंसोबाट सम्पर्क विहिन अवस्थामा रहेको छ । उक्त हराईरहेको हवाई साधनमा नेपाली सेनाका २ जना र अमेरिकी सेनाका ६ गरि जम्मा ८ जना रहेका थिए । हेलिकप्टर सम्पर्क विहिन भएको खबर प्राप्त हुनासाथ उक्त क्षेत्रमा भुकम्प पीडितहरुको लागि दोलखा जिल्लाको लापिलाङ्ग, लामिडांडा, सुनखानी, क्षेत्रपा एवम् जुभु ईलाकामा रहेका फौजहरुलाई तुरुन्तै संभावित ईलाकाहरुमा परिचालित भई हराईरहेको हेलिकप्टरको खोजी कार्य जारी राखेका छन् । त्यसैगरि खोजी कार्यलाई थप मद्धत एवम् प्रभावकारी बनाउन आज विहान सवेरैबाट नेपाली सेनाको हवाईसधानहरु समेत संभावित ईलाकाहरुमा गई खोजी कार्य जारी राखेको छ ।