नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी


१. मिति २०७२÷१÷१२ गतेको शक्तिशाली भूकम्पको साथै बैशाख २९ गते मध्यान्ह गएको शक्तिशाली भूकम्पबाट पुनः देशका विभिन्न स्थानहरुमा मानवीय तथा भौतिक क्षति भएको हुँदा स्थानीयस्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा बृहत रुपमा फौजहरु परिचालन गरी खोज एवम् उद्धार कार्यलाई तिव्रता दिएको छ । त्यसैगरी बैशाख २९ गते दोलखा तथा सिन्धुपाल्चोक जिल्लामा केन्द्रबिन्दु बनाई गएको शक्तिशाली भूकम्पबाट अति प्रभावित उक्त जिल्लाका विभिन्न स्थानहरुमा नेपाली सेनाको फौज परिचालन भई भग्नावशेषमा पुरिएका स्थानीयहरुको खोजी तथा उद्धार गर्ने कार्यलाई समेत प्राथमिकतामा राखी क्रियाशिल रहेको छ । साथै, उक्त पछिल्लो भूकम्पबाट पीडित घाइते तथा बिरामीहरुलाई उपचारको निमित्त नेपाली सेना तथा मित्रराष्ट्रहरुको हवाई साधन एवम् मेडिकल टिमहरु समेत तत्काल परिचालन भएका छन् । 

२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सँग Tzu Chi  Foundation, Malaysia का प्रतिनिधिहरुले जंगी अड्डा परिसरमा शिष्टाचार भेटघाट गर्नुभएको छ । उक्त कार्यक्रममा प्रधानसेनापति श्री राणाले भुकम्प पिडीतहरुको लागि खोज, उद्धार तथा राहत सामाग्री बितरण गर्न हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी गराईएको एवम् नेपाली सेनाले अपनाएको विपद व्यवस्थापन प्रणालीको बारेमा जंगी अड्डा परिसरमा प्रत्यक्ष अवलोकन समेत गराईएको थियो ।  

३. आज नेपाली सेनाले हवाई साधनद्धारा भूकम्प प्रभावित गोरखा, धादिङ्ग, दोलखा र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गरी १०,८०० के.जी. खाद्यान्न र १,८५० के.जी. राहत सामाग्री पु¥याएको छ भने विभिन्न स्थानमा अलपत्र परेका गोरखा जिल्लाबाट ६ जना तथा दोलखा जिल्लाबाट ४ जना स्वदेशी नागरिकलाई हवाई साधनद्वारा उद्धार गरेको छ ।
 
४. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र रसुवा जिल्लाको धुन्चे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । त्यसैगरी आज मित्रराष्ट्र जापानको मेडिकल टिमले टुँडिखेल र भक्तपुरमा तथा नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्तरुपमा दोलखा जिल्लाको चरिकोटमा एवम् मित्रराष्ट्र क्यानाडाको मेडिकल टिमले सिन्धुपाल्चोक जिल्लाको सुकुटे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । साथै नेपाली सेना तथा मित्रराष्ट्र चीनको संयोजकत्वमा रहेको महामारी नियन्त्रण टोलीले भक्तपुर जिल्लाको कमलबिनायक तथा महेश्वरी ईलाका एवं श्री विरेन्द्र अस्पताल, छाउनीमा महामारी नियन्त्रण र खतरा मुल्यांकन कार्यक्रम संचालन गरेको छ भने बिभिन्न स्थानबाट ल्याईएको शवहरुबाट महामारी तथा संक्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा स्प्रे टिम स्ट्याण्डवाई राखिएको छ ।

५. आज मिति २०७२ जेष्ठ १ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीद्वारा २४,०६४ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । त्यस्तै नेपाली सेनाले श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी हालसम्म ११८१ जनालाई उपचार गरिसकेको, २८६ जनालाई अपरेशन गरेको र हालसम्म ३१३ जनालाई हेलिकप्टरबाट ईभ्याक्यूएशन गरि उपचारको निमित्त वीरेन्द्र अस्पतालमा ल्याईएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २९ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा ३,०९,००० लिटर खानेपानी वितरण गरेको छ ।  

६. त्यसैगरी आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले भिमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पशुपतिनाथस्थित गोरख क्षेत्र, शंखमूलस्थित जगतनारायण मन्दिर, जयबागेश्वरी मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र र बालाखु मन्दिर एवं चाँगुनारायण मन्दिर पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु हटाउने कार्यमा सक्रियताका साथ परिचालन भईरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त अहोरात्र खट्टिरहेको छ । नेपाली सेनाले त्रिपुरेश्वरस्थित नारायण मन्दिर क्षेत्र भित्रको भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषबाट उत्खनन् गरि निकालेको पाँच बोरा रुद्राक्ष पुरातत्व विभागको रोहवरमा छाउनीमा भण्डारण गरिएको छ । 

७. नेपाली सेना समस्त देश र देशबासी माथि पुनः आईपरेको बिपत्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जिउधनको सुरक्षार्थ कटिबद्ध एवं समर्पित रहेको बिश्वास दिलाउन चाहन्छ ।