क्षेत्रीय तहको United Nations Military Observer तालिम शुरु

१. काभ्रेपलाञ्चोकको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज मिति २०६७ कार्तिक २८ गतेबाट स्वदेशी तथा विदेशी अधिकृतहरु सम्मिलित क्षेत्रीय तहको संयुक्त राष्ट्र संघीय सैनिक पर्यवेक्षक (United Nations Military Observer) तालिम शुरु भएको छ । २. विभिन्न मित्रराष्ट्रका अधिकृतहरुको सहभागिता रहेको क्षेत्रीय स्तरको यस प्रकारको तालिम नेपालमा पहिलो पटक संचालन गरिएको हो । चीन, बंगलादेश र संयुक्त राज्य अमेरिकाका अधिकृतहरु सम्मिलित यस तालिमको श्री सैनिक विनय महानिर्देशक, उपरथी श्री अनिलजंग थापाले उक्त तालिम केन्द्रमा आज आयोजित एक कार्यक्रमका बीच प्रथम प्रवचन गर्नु भई तालिमको शुरुवात गर्नुभयो । ३. संसारका विभिन्न मिशनहरुमा सैनिक पर्यवेक्षकका रुपमा खट्टिदा प्रभावकारी र सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाका अधिकृतहरुलाई नियमित रुपमा यो तालिम दिइँदै आएको छ । जसको फलस्वरुप नेपाली सैनिक अधिकृतहरुको कार्य क्षमता र प्रदर्शनीको सम्पूर्ण मिशनहरुबाट कदर हुँदै आएको छ । ४. मिति २०६७ मंसिर १७ गतेसम्म सञ्चालन हुने यस तालिमको दौरान सहभागी अधिकृतहरुलाई राष्ट्र संघको विभिन्न प्रणालीहरु, मानव अधिकार, लैंगिक सचेतना, संवाद तथा सम्झौताका सीपहरुलगायत सैनिक पर्यवेक्षकको हैसियतले सम्पादन गर्नु पर्ने विविध विषयहरुबारे जानकारी गराईने छ । यस तालिमको समाप्ती पश्चात अधिकृतहरुको पेशागत क्षमतामा अभिवृद्धि हुनुको साथै आत्मविश्वास समेत बढ्दछ । ५. आज सम्पन्न प्रथम प्रवचनको अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको अलावा अमेरिकी र चिनियाँ सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो ।