शान्ति स्थापनार्थ MONUSCO Mission, Congo मा तैनाथ एक नेपाली शान्ति सैनिकको शहादत

१. नेपालको परराष्ट्र नीतिलाई प्रवद्र्धन र विस्तार गर्न, नेपाल र नेपालीको चिनारीलाई विश्वसामु उजागर गर्न एवं विश्व शान्तिका खातिर विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली सेना शान्ति सैनिकको रुपमा अविचलित कर्तव्य निर्वाह गर्दै आईरहेको छ । एक सैनिक जवान राष्ट्रले दिएको कठिन भन्दा कठिनतम आदेशलाई सिरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अन्जान अपरिचित र कठिन भौगोलिक र सुरक्षा परिस्थितिमा विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा एक महत्वपूर्ण योगदान हो । विश्व शान्ति, भातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहंदा शहादत प्राप्त गर्नु आफैंमा एक विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले हामी सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको छ । हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६० जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् ।
२. यसै सिलशिलामा विगत आठ महिनादेखि मध्यपूर्वस्थितMONUSCO Mission, Congo मा श्री भीमदल गण (शा.से.) २१ औं डफ्फामा कार्यरत सि. बल बहादुर नेपालीले कर्तव्य पालनको सिलशिलामा मिति २०७२ वैशाख २८ गते असामयिक मृत्युवरण गर्नु भएको छ । शहादत प्राप्त सि. बल बहादुर नेपालीको पार्थिव शरीरलाई आज कतार एयरलाईन्सबाट नेपाल ल्याई गौचरस्थित श्री कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली दिने कार्य सम्पन्न भएको छ । सो अवसरमा नेपाली सेनाका रथीबृन्द, सेनानीवर्ग तथा अन्य सैनिक जवान एवं सम्बन्धितका परिवारजनका साथै नेपालस्थित UN स्थायी नियोगका प्रतिनिधि र रक्षा मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो । 
३. यस दुःखद घडिमा सम्पूर्ण नेपाली सेनाकोतर्फबाट मृत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दै सम्बेदना प्रकट गर्न चाहन्छ ।