UH-1Y Huey Helicopter दुर्घटनामा परी निधन भएका दुवै देशका सैनिकहरुको शव काठमाण्डौ ल्याई पहिचान गर्ने कार्य जारी  

 
१. मिति २०७२ बैशाख २९ गतेदेखि हराईरहेको U.S. Marine Corps को  UH-1 Huey हेलिकप्टरको खोजी कार्य पुरा भएको छ । उक्त हेलिकप्टर मिति २०७२ जेष्ठ १ गते सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.बि.स. वडा नं. ३ को अति बिकट तथा अप्ठ्यारो ईलाकामा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो । भूकम्प पिडीतहरुलाई खोज, उद्धार तथा राहत कार्यको लागि खट्टिएको उक्त हेलिकप्टरमा नेपाली सेनाका–२ जना र U.S. Marine Corps का ६ अमेरिकन सैनिक सहित जम्मा ८ जना लिएर गएकोमा हेलिकप्टर दुर्घटनामा परी क्षतिग्रस्त अवस्थामा र हेलिकप्टरमा सवार सम्पूर्णको दुखद निधन भई शवहरु टुक्रा टुक्रा अवस्थामा ११,२०० फिटको उचाईमा फेला परेको थियो । हाल नेपाली सेनाले दुर्घटनाग्रस्त ईलाकालाई सुरक्षा प्रदान गरिराखेको छ ।   

२. दुर्घटनामा परी उक्त हेलिकप्टरमा सवार दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ८ रिन्हा बस्ने नेपाली सेनाका  सह–सेनानी तपेन्द्र रावल र दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. ३ वरेल बस्ने जम. बसन्त तितराको कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएको थियो । U.S. Marine Corps को  UH-1 Huey हेलिकप्टरद्धारा दुर्घटनास्थलबाट ८ जना सैनिकहरुको शव आज ११०५ बजे काठमाण्डांै ल्याई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको Bay-9 मा राखि शवहरुको पहिचान गर्ने कार्य भईरहेको छ । आज उक्त शवहरुको पहिचान पश्चात मृत्यु भएका नेपाली सैनिकहरुको शव त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा पोष्टमार्टम गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने योजना रहेको छ । त्यसैगरी आजै कर्तव्यपालनको सिलसिलामा मृत्यु भएका अमेरिकी सैनिकहरुको शव पहिचान पश्चात् American Recreation Center लैनचौरमा लगिने योजना रहेको छ । त्यस्तै भोली नेपाली सेनाका व्यक्तिहरुको शवलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान दिई अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाको हवाई साधनद्धारा सम्बन्धितको गृह जिल्ला लगि आफन्तलाई बुझाउने कार्यक्रम रहेको छ ।

३. प्रधान सेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. ले मिति २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्प र पुनः बैशाख २९ गते गएको विनाशकारी पराकम्पनबाट प्रभावित भूकम्प पीडितहरुको खोज, उद्धार र राहत कार्यमा संवेदनशिल भई अहोरात्र खट्टि कर्तव्यपालनको सिलसिलामा सम्पूर्ण नेपाल र नेपालीको लागी समर्पित रही असमायिक रुपमा मृत्युवरण गर्नुभएका नेपाली सेना तथा U.S. Marine Corps का वीर सपूतहरु तथा वहाँहरुको परिवारजनमा हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै हालसम्म मित्रराष्ट्र अमेरिकाले गरेको सहयोग तथा योगदानप्रति आभार समेत प्रकट गर्नु भएको छ ।  


४. उक्त हेलिकप्टर दुर्घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन चालक सहायक रथी श्री सुधिर श्रेष्ठको नेतृत्वमा दुर्घटनाको छानबिनको लागि ५ सदस्यीय टोली गठन भई छानबिन कार्य प्रारम्भ गरिसकेको छ । 

५. भूकम्प पिडीतहरुको खोज, उद्धार तथा राहत कार्यमा विश्वको विभिन्न भू(भागहरुबाट आई लगातार रुपमा अथक परिश्रम गरी सहयोग गरिरहेका मित्रराष्ट्रहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई नेपाली सेना हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । खोज, उद्धार तथा राहत कार्यमा तल्लिन सम्पुर्ण मित्रराष्ट्रहरुसंग नेपाली सेना संयुक्त रुपमा सहकार्य तथा समन्वय गरी निरन्तर अगाडी बढ्ने सम्बन्धमा नेपाली सेना विश्वास दिलाउन चाहन्छ । साथै, दुर्घटनामा परेको U.S. Marine Corps को हेलिकप्टरको अवस्था पत्ता लगाउन दिनरात नभनी खोजी तथा उद्धार कार्यमा लगातार रुपमा परिचालित भई विशेष किसिमले सहयोग प्रदान गर्ने मित्रराष्ट्र अमेरिकी र भारतीय हवाई सेना, स्थानिय प्रशासन, सुरक्षा निकाय, स्थानिय बासिन्दा लगायत सम्बन्धित सबैमा नेपाली सेना धन्यवाद ज्ञापन गर्दछ ।