विपद् व्यवस्थापनमा नेपाली सेनाका सकलदर्जाले पु¥याएको योगदान 


१. नेपाली सेना समस्त देश र देशवासीको हितको लागि सदैव निसंकोच एवम् संयमित रहि निस्वार्थ भावनाले दिईएको जिम्मेवारी पूर्णरुपमा बहन गर्नसक्ने ब्यक्तिहरुको जमातले भरिएको २५० बर्ष भन्दा लामो गौरवशाली ईतिहास एवम् परम्परा बोकेको पवित्र संस्था हो । यस पवित्र संस्थाले आफ्नो अक्षुण्णता कायम राख्ने सिलसिलामा निस्वार्थ रुपमा त्याग एवम् समर्पणको भावनाले विभिन्न कालखण्डहरुमा देश र देशवासीको जीउधनको सुरक्षार्थ धेरै वीर सपुतहरुले आफ्नो जीउज्यानको समेत बलिदानी गरिसकेका छन् ।

२. यही २०७२ बैशाख १२ गते गएको विनाशकारी शक्तिशाली भूकम्प एवम् २०७२ बैशाख २९ गते गएको शक्तिशाली पराकम्पनबाट भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्ला देखि अन्य थुपै्र जिल्लाहरु प्रभावित भई धेरै मात्रामा जनधनको क्षती पुगेको यथार्थता रहेको छ । तत्काल विभिन्न प्रभावित जिल्लाहरुमा नेपाली सेना परिचालित भई खोज, उद्धार एवम् राहत ढुवानी कार्यलाई प्राथमिकतामा राखि निरन्तर लगनशील रुपमा खट्टि नै रहेको छ । हालै गएको विनाशकारी भूकम्पले नेपाली सेनाका सकलदर्जाहरुको घर परिवारलाई पनि क्षति पुग्न गएको भएतापनि आफुलाई परेको समस्याकोे  कुनै वास्ता नगरी समस्त देश र देशवासीलाई परेको पीडालाई न्यूनिकरण गर्न अहोरात्र खट्टिरहेका छन् । 

३. यसैक्रममा नेपाली सेना एवम् मित्रराष्ट्र भारत, चीन लगायत संयुक्त राज्य अमेरिकाको हवाई साधनहरुले उद्धार तथा राहत वितरणमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको अवस्थामा गत २०७२ बैशाख २९ गते उद्धार तथा राहत ढुवानीको निमित्त खट्टिएको US Marine Corps sf] UH-1Y सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.वि.स. वडा नं. ३ को अति विकट तथा अप्ठ्यारो ईलाकामा दुर्घटनाग्रस्त भई उक्त अमेरिकन हेलिकप्टरमा सवार नेपाली सेनाका २ जना र US Marine Corps का ६ जना समेत गरि जम्मा ८ जनाको कर्तब्यपालनाको सिलसिलामा असामयिकरुपमा दुखद निधन भएको छ । यस दुखद निधनले नेपाली सेना मर्माहत तथा स्तब्ध भएको छ । 

४. उक्त हेलिकप्टर दुर्घटनामा परी दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ८ रिन्हा स्थायी घर भई हाल नेपाली सैनिक प्रतिष्ठानमा कार्यरत रही गुल्मपति तथा स्टाफ तालिमको सिलसिलामा सैनिक शिक्षालय नगरकोटमा तालिमरत रही विनाशकारी शक्तिशाली भूकम्प २०७२ को व्यवस्थापनको लागि अपरेशन ूसंकट मोचनू मा खट्टिएका नेपाली सेनाका सह सेनानी तपेन्द्र वहादुर रावल र दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. ३ वरेल स्थायी घर भई युद्धभैरव गणमा कार्यरत जमदार बसन्त तितराको कर्तव्यपालनाको सिलसिलामा असमायिक निधन भएको थियो । सोही घटनामा परी मित्रराष्ट्र अमेरिकाका Harlan, Nebraska निवासी बर्ष २९ का Captain Dustin R. Lukasiewicz,  Sedgwick, Kansas निवासी बर्ष ३१ का Captain Christopher L. Norgren,  Seminole, Florida निवासी बर्ष २९ का Sergeant Ward M. Johnson, IV,    Riverside, California  निवासी बर्ष ३०  काSergeant Eric M. Seaman,   Kane, Illinois निवासी बर्ष २३ का Corporal Sara A. Medina  / Maricopa, Arizona निवासी बर्ष २२ का Lance Corporal Jacob A. Hug    गरी ६ जनाको समेत कर्तव्यपालनाको सिलसिलामा असमायिक निधन भएको थियो ।

५. सह सेनानी तपेन्द्र वहादुर रावल मिति २०४२ असोज ३ गते दैलेखमा जन्मनु भई मिति २०६१ भदौ ७ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भई २०६२ भदौ १५ गते सहायक सेनानी दर्जामा कमिशन प्राप्त गर्नु भएको थियो । तीक्ष्ण बुद्धि, मिलनसार एवम् पेशामा समर्पित सह सेनानी तपेन्द्रले नेपाली सेनाको बिशेष फौजको नियुक्तिमा रही युद्धभैरव गणमा र शिक्षक अधिकृतको रुपमा नेपाली सैनिक प्रतिष्ठानमा समेत कार्य गर्नु भएको थियो । त्यसैगरी सह सेनानी तपेन्द्रले स्वदेशमा बृत्ति विकास लगायत अन्य तालिम गरी ११ वटा तालिमहरुमा उत्कृष्ट नतिजा हांसिल गर्न सक्षम रहनु भएको थियो भने मित्रराष्ट्र भारतमा युवक अधिकृत तालिम र श्रीलंकामा सरभाईवल, स्केप, इभेजन एण्ड कम्व्याट ट्रयाकिङ्ग तालिम समेत प्राप्त गरिसक्नु भएको थियो । त्यसैगरी वि.सं. २०६७ भदौ १४ गतेदेखि बि.सं. २०६७ फाल्गुन १९ गतेसम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि Sudan-UNAMID Force Reserve-2  मा सहायक लजिष्टिक अधिकृतको रुपमा समेत सफलतापूर्वक कार्य सम्पन्न गरी स्वदेश फिर्ता हुनु भएको थियो । साथै सोही घटनामा परी कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका जम. बसन्त बहादुर तितरा मिति २०३८ बैशाख २९ गते महाकाली अन्चल दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. २ बारीलमा जन्मनु भई मिति २०५७ बैशाख २० गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भई युद्धभैरव गणमा कार्यरत थिए । मिलनसार, मृदुभाषी र आफुलाई दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट पूरा गर्न सक्ने लगनशिल एवम् कर्तव्यनिष्ठ जम. बसन्त मिति २०७२ बैशाख २१ गतेबाट एयर सप्लाई सेक्युरिटी तथा राहत बितरण कार्यमा खट्टिनु भएको थियो ।   

६. मिति २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प र तत्पश्चात गएको पराकम्पनहरुका कारण तथा कर्तव्य पालनाको दौरान असामयिक निधन हुनु भएकोमा स्वदेशी तथा विदेशी नागरिकहरु, नेपाली तथा अमेरिकी सेनाका अधिकृत, पदिक, अन्यदर्जाहरुकोे आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरुप्रति नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ । यस कर्तव्यपालनको दौरान घाइते हुनु भएका सैनिक तथा गैरसैनिक व्यक्तिहरु र तिनका परिवारजनहरुको समेत शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । 

७. यसरी आप्mनो जिम्मेवारी पुरा गर्ने क्रममा निधन हुनु भएका नेपाली सेनाका सकलदर्जा एवम् ग्क् ःबचष्लभक प्रति नेपाली सेना गर्व गर्दछ । साथै वहांहरुले नेपाल र नेपाली जनताको सेवामा गर्नु भएको समपर्णलाई नेपाली सेनाले निरन्तरता दिने प्रण समेत गर्दछ । त्यसैगरी यस राष्ट्रिय विपद्को कठिन घडीमा नेपाली जनताको जीवन रक्षा, राहत तथा पुनस्र्थापना गर्ने जस्तो पवित्र कार्यमा २५० बर्ष भन्दा लामो इतिहास बोकेको नेपाली सेनाले पु¥याएको योगदानको मुल्यांकन समय र इतिहासले यथोचित रुपमा गर्नेमा विश्वश्त रही नेपाली सेना यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउनेतर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।