पहिरोद्वारा थुनिएको कालीगण्डकी नदीद्वारा सम्भावित क्षति न्युनिकरणको लागि नेपाली सेनाको प्रयास 


१. मिति २०७२ जेष्ठ ९ गते राति  म्याग्दी जिल्लाको राम्चे गा.बि.स. वडा नं.९ मा गएको पहिरोको कारण कालीगण्डकी नदी थुनिएको खबर प्राप्त हुनासाथ तत्काल नेपाली सेनाको उच्च प्राबिधिक टोली, नेपाल सरकारको हाईड्रोलोजिष्ट बिज्ञ एवम् भुर्गवबिद सम्मिलीत एकटोली उक्त ईलाकातर्फ गई घटना सम्बन्धमा प्रारम्भिक जानकारी लिई आजै फिर्ता भएको छ । 

२. त्यसैगरी नेपाली सेनाको पैदल फौज आज बिहानै पहिरो गएको स्थानको पश्चिमपट्टिको डाँडामा पुगेको तथा बेनीबाट म्याग्दी जिल्लास्थित नेपाली सेनाको ३ टोली फौज घटनास्थल वरपर सुरक्षार्थ परिचालन गरिसकिएको छ । प्राप्त जानकारी अनुसार शुरुमा ठुलो आवाजका साथ पहिरो गईरहेको र पहिरोले नदी पूर्ण रुपमा थुनिएको कारण ४ कि.मि.लामो, करिब  १००–१५० मिटर गहिरो र करिब ५५ मिटर चौडा ताल बनेको र नदीको बहाव पूर्णरुपमा बन्द रहेको भन्ने जानकारी प्राप्त भएको थियो । उक्त पहिरो गएको ईलाकामा रहेको २६ ओटा घरहरु मध्ये २५ ओटा घर पहिरोले पुरिएको अवस्थामा रहेको छ । तत्कालै अन्यत्र सारिएकोले कुनै मानवीय क्षति हुन पाएको छैन । 

३. आज बेलुकीको १७०० बजेबाट उक्त पहिरोले थुनिएको नदीको माथील्लो भागबाट पानी Overflow  भई सामान्य अवस्था भन्दा बढी पानीको बहाव रहेको जानकारी प्राप्त भएको छ । पानीको उच्च बहाव भएको कारण म्याग्दी, पर्वत, कास्की, स्याङ्गजा, तनहुँ, चितवन, र नवलपरासी जिल्लाहरुको नदी किनारमा अवस्थित बस्तीहरुलाई जोखीम पुग्नसक्ने अनुमान गरिएको हुँदा सम्भावित क्षती पुग्नसक्ने ईलाकाहरुमा रहेका बस्तीहरुमा स्थानीय प्रशासन, अन्य सुरक्षा निकायहरुसंग समन्वय गरि सचेत गराउने कार्य भईरहेको छ । साथै, उक्त ईलाकामा सानो स्केलको पहिरो जाने क्रम यथावत नै रहेको छ । त्यसैगरी आवश्यकता अनुसार बिशेषज्ञ टोलीले दिएको सल्लाह अनुसार नेपाली सेना पहिरोद्वारा थुनिएको कालीगण्डकी नदीको पानीको बहावलाई पहिलाकै स्वरुपमा फर्काउन प्रयासरत रहने छ ।  

४. त्यस्तै उक्त पहिरो खोल्नको लागि नेपाली सेनाको ईन्जिनीयर टोली आवश्यक ईक्युपमेण्ट, Out Board Motor (OBM), लाईफ ज्याकेट तथा आवश्यक पर्ने एक्सप्लोसिभ सहित तयारी हालतमा राखीएको छ । 

५. जुनसुकै परिस्थितिको सामाना गर्न तथा आफ्नो श्रोत र साधनको अधिकतम प्रयोग गरि आमनागरिकहरुको रक्षार्थ नेपाली सेना हरपल कटिबद्ध रहेको सबैमा बिश्वास दिलाउन चाहान्छ ।