लुक्लाबाट यात्रु तथा पर्यटकहरुको उद्वार

१. खराब मौसमका कारण विगत केही दिनदेखि सोलुखुम्बुको लुक्ला विमानस्थल बन्द भई अलपत्र परेका स्वदेशी तथा विदेशी यात्रुहरुलाई नेपाली सेनाको हवाई साधनहरुद्वारा काठमाण्डौं ल्याईएको छ । २. लुक्ला क्षेत्रमा विगत केही दिनयता मौसममा आएको प्रतिकुलताको कारण खुम्बु क्षेत्रको पर्वतारोहण तथा पदयात्रामा गएका विदेशी पर्यटक तथा यात्रुहरुलाई सम्बन्धितहरुसँग नियमानुसारको हवाई भाडा लिई उद्वार गरी काठमाडौं ल्याउनको निमित्त नेपाली सेनालाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुरोध तथा रक्षा मन्त्रालयबाट निर्देशन भई आए बमोजिम लुक्लाबाट काठमाण्डौंसम्म नेपाली सेनाको हेलिकप्टर तथा जहाजहरु प्रयोग गरी उद्वार गरिएको हो । ३. उपरोक्त मन्त्रालयहरुको अनुरोध पश्चात एक उद्वार टोली गठन गरी बिरामी, अशक्त तथा नेपाल बसाईको अवधिको म्याद कम भएका पर्यटक तथा यात्रुहरुलाई प्राथमिकता दिई काठमाण्डौंसम्म ल्याउने व्यवस्था मिलाईएको थियो । सोही आधारमा आज मिति २०६७ मंसिर ४ गते १८४ जना यात्रुहरुलाई लुक्लाबाट काठमाडौं ल्याईएको छ । ४. ती यात्रुहरुलाई हेलिकप्टरद्वारा लुक्लाबाट लामीडाँडासम्म र लामीडाँडाबाट काठमाण्डौंसम्म हेलिकप्टर र जहाजद्वारा उद्वार गरिएको थियो । यसरी उद्वार गरिएका यात्रुहरुमा आठ जना नेपाली थिए भने बाँकी सबै विदेशी पर्यटकहरु छन् ।