खोज तथा उद्धारको लागि मित्रराष्ट्रहरुबाट आएका सम्पुर्ण सैनिकहरु  स्वदेश फिर्ता 


१. मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात तत्काल खोज तथा उद्धार कार्यको लागि विभिन्न १८ वटा मित्रराष्ट्रहरुका सेनाहरुको टोली आवश्यक उद्धार सामाग्री, हवाई साधन सहित नेपाल आई नेपाली सेनाको समन्वय तथा सहकार्यमा विभिन्न स्थानहरुमा खट्टि क्रमशः भूकम्प पीडितहरुको खोज, उद्धार, राहत, घाइते बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने कार्य, अवरुद्ध सडक खुलाउने एवम् भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्यमा एकजुट भई तदारुकताकासाथ प्रभावकारी ढंगबाट कार्य सम्पादन गरी नेपाल आएका मित्रराष्ट्रहरुका सम्पुर्ण फौज स्वदेश फिर्ता भएका छन् । 

२. आज मिति २०७२ जेष्ठ २२ गते क्यानडाका बाँकी ७ जना सैनिकहरु स्वदेश फिर्ता भए पश्चात मित्रराष्ट्रहरुबाट आएका सबै विदेशी सैनिकहरु फिर्ता हुने कार्य सम्पन्न भएको छ । 

३. नेपालमा आएको विनाशकारी भूकम्पछि उक्त कार्यको लागि मित्रराष्ट्र भारतीय सेनाको ७११ जना खोज तथा उद्धार टोली, २२६ जना मेडिकल टोली, १४६ जना Air Force Service Men र ३३२ जना Combat Engineers तथा Humanitarian Assistance Team  गरी जम्मा १४१५ जना भारतीय सैनिक नेपाल आएको थियो । त्यसैगरी क्यानडाका सेनाको २७ जना मेडिकल टोली र १७५ जना Combat Engineers तथा  Humanitarian Assistance Teamगरी जम्मा २०२ जना, अमेरिकी सेनाको ३०० जनाAir Force Service Men, चिनीयां सेनाको १०२ जना खोज तथा उद्धार टोली, १४० जना मेडिकल टोली, २४ जना Air Force Service Men र ६७६ जना Combat Engineers तथा Humanitarian Assistance Team  गरी जम्मा ९४२ जना, बेलायती सेनाको ६ जना मेडिकल टोली, १२८ जना Combat Engineers तथा Humanitarian Assistance Team गरी जम्मा १३४ जना नेपाल आएको थियो । त्यसैगरी जापानी सेनाको ११४ जना मेडिकल टोली, भुटानी सेनाको ७७ जना मेडिकल टोली, पाकिस्तानी सेनाको ३५ जना खोज तथा उद्धार टोली तथा ४९ जना मेडिकल टोली गरी जम्मा ८४ जना, ईण्डोनेसिया सेनाको ५४ जना खोज तथा उद्धार टोली, ५१ जना मेडिकल टोली गरी जम्मा १०५ जना,  थाईल्याण्ड सेनाको १७ जना खोज तथा उद्धार टोली तथा ३७ जना मेडिकल टोली गरी जम्मा ५४ जना,  श्रीलंका सेनाको ४४ जना मेडिकल टोली ९७ जना Combat Engineers तथा Humanitarian Assistance Team  गरी जम्मा १४१ जना,  ईजरायली सेनाको ५९ जना खोज तथा उद्धार टोली, १२४ जना मेडिकल टोली तथा १०३ जना Combat Engineers तथा Humanitarian Assistance Team   गरी जम्मा २८६ जना, स्पेनी सेनाको ६० जना खोज तथा उद्धार टोली, अलजेरिया सेनाको ७३ जना खोज तथा उद्धार टोली, बंगलादेशी सेनाको १९ जना मेडिकल टोली नेपाल आएको थियो । त्यसैगरी सिंगापुर सेनाको १३० जना खोज तथा उद्धार टोली, १६ जना मेडिकल टोली र ३६ जना Combat Engineers तथा Humanitarian Assistance Team  गरी जम्मा १८२ जना, मलेसिया सेनाको ४७ जना खोज तथा उद्धार टोली एवं पोल्याण्ड सेनाको ८१ जना खोज तथा उद्धार टोली गरी कुल जम्मा ४३१६ जना विदेशी सैनिकहरु नेपाल आएका थिए ।

४. मित्रराष्ट्रहरुबाट आएका सम्पुर्ण खोज तथा उद्धार टोलीहरु स्वदेश फिर्ता भए पश्चात जंगी अड्डा परिसरमा संचालन भएको Multinational Military Coordination Center (MNMCC) आजैबाट बन्द गरिएको र यस सम्बन्धी बाँकी कार्यहरु भएमा श्री बलाधिकृत बिभाग,      व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयको कार्यालयबाट सम्पन्न हुनेछ । 


५. नेपाल र नेपालीलाई परेको यस प्राकृतिक विपद्को कठिन घडीमा तत्काल मित्रराष्ट्रहरुबाट आई नेपाली सेनासंग हातेमालो गर्दै भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्ने, मृतकहरुको शव निकाल्ने, घाईतेहरुको उपचार गर्ने, राहत सामग्रीहरु ढुवानी गर्ने एवं अवरुद्ध सडकहरु खोल्नेजस्ता प्रशंसनिय कार्यहरु गरी नेपाल र नेपालीमाथि आई परेको बिपद्को घडिमा गरेको यस किसिमको अतुलनिय सहयोगको लागि नेपाली सेना हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यस किसिमको सहयोग तथा सहकार्यबाट सवै मित्रराष्ट्रहरुसंग लामो समयदेखि रही आएको मैत्रीपुर्ण तथा पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।