नेपाली सेनाद्वारा खोज, उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरु एवम् पहिरो प्रभावित ताप्लेजुङ्ग जिल्लाको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२    जेष्ठ ३१ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत, भग्नावशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. विनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी खट्टिएको नेपाली सेनाको बिशेष तालिम प्राप्त रेन्जर गणको Disaster Assessment and Response Team (DART) टिम लगायतका फौजले खोजी कार्यलाई निरन्तरता दिईरहेको छ । त्यस्तै, नेपाली सेनाले आज बिहानसम्म घोडातवेलाबाट लाङटाङतर्पmको पहिरो हटाई स्याफ्रुबेशीबाट लाङटाङ    जाने १५ कि.मि. पैदल मार्ग खुलाई सडकखण्ड सुचारु गरेको छ । 

३. यसैगरी, अविरल बर्षाको कारण ताप्लेजुङ्ग र संखुवासभा जिल्लाको विभिन्न क्षेत्रहरुमा गएको पहिरोबाट बेपत्ता भएका तथा पुरिएकाहरुको खोज तथा उद्धार कार्यको लागि समेत नेपाली सेना परिचालन भई व्यापक रुपमा खोजी कार्य जारी राखेको छ । आज विहानसम्म ताप्लेजुङ्ग जिल्लाबाट ११ जना र संखुवासभा जिल्लाबाट ६३ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा सकुशल उद्धार गरेको छ । पहिरो प्रभावित दुवै जिल्लाको विभिन्न स्थानहरुमा नेपाली सेनाको खोज तथा उद्धार कार्य जारी रहेको छ । 

४. यसैगरी आज नेपाली सेनाले स्थलमार्गबाट १४ वटा भूकम्प अतिप्रभावित जिल्लाहरुमा ४४.४ टन खाद्यान्न लगायत ९.४ टन अन्य राहत सामग्रीहरुको ढुवानी गरेको छ । यसैगरी नेपाली सेनाको हेलिकप्टरद्धारा ताप्लेजुङ जिल्लामा २२०० के.जि. खाद्यान्न तथा स्थलमार्गद्धारा १२०० के.जि. खाद्यान्न पु¥याएको छ । त्यस्तै, नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १३ वटा पानी ट्यांकरहरुद्वारा २,९७,५०० लिटर खानेपानी वितरण गरेको छ । 



५. नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले उपत्यका तथा उपत्यका बाहिरका जोखिमयुक्त घर तथा पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ । यसैक्रममा, उपत्यका भित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, थापाथलीस्थित नेपाल राष्ट्र बैंक, साँखुस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर एवं बनेपास्थित चण्डेश्वरी मन्दिर ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  
६.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य बनाउने तर्पm अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।