नेपाली सेनाद्धारा “नकआउट फुटवल प्रतियोगिता” को आयोजना

१. नेपाल ओलम्पिक कमिटिको अनुरोध एवम् “ओलम्पिक डे २०१५” को अवसरमा नेपाली सेनाद्वारा जंगी अड्डास्थित खेल मैदानमा आयोजना गरेकोे “नकआउट फुटवल प्रतियोगिता” को आज मिति २०७२ जेष्ठ ३१ गते सैनिक विनय महानिर्देशक उपरथी श्री राजेन्द्र बहादुर कार्कीले एक बिशेष समारोहकाबीच समुद्घाटन गर्नु भएको छ । 
२. मिति २०७२ जेष्ठ ३१ गतेदेखि ३२ गतेसम्म संचालन हुने उक्त फुटवल प्रतियोगिताको शुरुवातको पहिलो खेल आज विहान त्रिभुवन आर्मी क्लव र स्पोर्टस् फर अल क्लवको भेट्रान्स टिम बीच प्रतिश्पर्धात्मक रुपमा सम्पन्न भएको थियो भने दिउंसो भएको दोश्रो नकआउट खेल नेपाली सैनिक प्रतिष्ठान खरिपाटीको अधिकृत क्याडेट टिम र सैनिक आवासीय महाबिद्यालय भक्तपुरको टिमबीच सम्पन्न भएको थियो । उक्त खेलमा त्रिभुवन आर्मी क्लव र नेपाली सैनिक प्रतिष्ठान खरिपाटीको अधिकृत क्याडेट टिमले स्पोर्टस् फर अल क्लवको भेट्रान्स टिम र वीरेन्द्र सैनिक आवासिय महाबिद्यालयका टिमलाई क्रमशः १-० र २-० गोलको अन्तरले पराजित गरी विजय हांसिल गरेको छ । दुवै खेलको विजेता टिमबीच भोली दिउंसो जंगी अड्डास्थित खेल मैदानमा फाइनल खेल सम्पन्न हुनेछ ।  
३. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।
४. राष्ट्रिय सुरक्षाको प्रमुख शक्तिका रुपमा रहेको नेपाली सेना नेपाली खेलकुद क्षेत्रको पनि पर्याय शक्तिको रुपमा स्थापित भएकोले “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने भनाईलाई आत्मसाथ गर्दै विपद्को यस कठिन घडीमा समेत विभिन्न स्तरमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुको साथै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको तर्फबाट समेत खेलाडीहरु सहभागी गराई सफलता पाउंदै आईरहेको छ । यस किसिमको विशेष खेल प्रतियोगिता सञ्चालन गर्न पाउनु नेपाली सेनाको लागि एक महत्वपूर्ण अवसर भएको साथै नेपाल र नेपालीको ईज्जत बढाउन र खेलकुद प्रतिको प्रतिबद्धता जनाउन यस खेलकुदको आयोजनाले थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।