नेपाली सेनाद्वारा जोखिमयुक्त भवन एवम् पुरातात्विक संरचना भत्काउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट अति प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै प्राथमिकताका साथ भूकम्पबाट क्षतिग्रस्त भई जोखिमयुक्त घर एवम् पुरातात्विक संरचनाहरु भत्काउंदै सर्वसाधारण जनतालाई सुरक्षाको प्रत्याभूति दिलाई जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ । नेपाल सरकार, शहरी बिकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवनहरु भत्काउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित नगरपालिका÷गा.वि.स. समेतको संलग्नतामा नेपाली सेनाको नेतृत्वमा उक्त कार्य संचालन गर्दै आईरहेको छ । 

२. यसैक्रममा, हिजो बेलुकीसम्म नेपाली सेना परिचालन भई धादिङ्ग जिल्लाको विभिन्न स्थानमा रहेको ४ वटा घर, नुवाकोट जिल्लाको १२, रसुवा जिल्लाको ३, मकवानपुर जिल्लाको ९, दोलखा जिल्लाको ४, रामेछाप जिल्लाको ३, सिन्धुली जिल्लाको २ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य गरेको छ । त्यसैगरी गोरखा जिल्लाको २३, सिन्धुपाल्चोक जिल्लाको ७, काभ्रेपलान्चोक जिल्लाको १, ओखलढुंगा जिल्लाको १ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य गरेको छ । त्यस्तै, काठमाण्डौ जिल्लाको विभिन्न स्थानमा जोखिममा रहेको १८ वटा घर, ललितपुर जिल्लाको ५ र भक्तपुर जिल्लाको २ वटा गरी जम्मा ९४ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य सम्पन्न गरेको छ । उक्त टोलीहरुले हालसम्म उपत्यका भित्रका १२१० र उपत्यका बाहिरका ५१०५ वटा जोखिमयुक्त घरहरु गरी जम्मा ६ हजार तीनसय १५ वटा घरहरु पूर्ण रुपमा भत्काउने कार्य सम्पन्न गरी आमजनमानसको थप जिउधनको क्षति हुनबाट न्यूनिकरण गरिएको छ । 

३. त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले उपत्यका तथा उपत्यका बाहिर रहेका पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यलाई समेत निरन्तरता दिईरहेको छ । सोही क्रममा उक्त टोलीहरुले हालसम्म उपत्यका भित्रका १८ वटा र उपत्यका बाहिरका ३३ वटा जोखिमयुक्त पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्य सम्पन्न गरीसकेको छ । त्यसैगरी उपत्यका भित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, थापाथलीस्थित नेपाल राष्ट्र बैंक, साँखुस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर एवं उपत्यका बाहिर बनेपास्थित चण्डेश्वरी मन्दिर ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  

४. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खट्टिई सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षा एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिई रहनेमा विश्वास दिलाउन चाहन्छ ।