नेपाली सेनाको कार्य प्रगति लगायत विविध बिषयहरुमा  राज्य व्यवस्था समितिलाई जानकारी 

१. आज मिति २०७२ आषाढ ०४ गते जंगी अड्डामा एक विशेष कार्यक्रमका बीच नेपाली सेनाको भूमिका, संगठनात्मक संरचना तथा तैनाथी र नेपाली सेनाले हांसिल गरेका उपलव्धी, सामना गरिरहेको चुनौति एवम् विद्यमान अवस्था र सुरक्षा वस्तुस्थितीको जानकारीको साथै बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात खोज, उद्धार एवम् राहत कार्यमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे राज्य व्यवस्था समितिलाई जानकारी गराईएको छ ।
२. कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै २५० बर्ष लामो गौरवमय इतिहास भएको नेपाली सेनाले इतिहासको विभिन्न कालखण्डमा देश, जनता तथा संविधानको रक्षाको साथै राष्ट्र निर्माणको लागि पु¥याउंदै आएको योगदान अविस्मरणीय रही आएको तथा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षण एवम् प्रतिरक्षाका लागि कटिबद्ध नेपाली सेना सदैव राष्ट्र तथा जनताको हितलाई सर्वोपरी ठानी संवैधानिक परिधिभित्र रही सरकारले सुम्पिएको जिम्मेवारी निभाउन कटिबद्ध रहेको बताउनु भएको छ । 
३. सोही अवसरमा प्रधानसेनापति श्री राणाले सक्षम, सुदृढ, व्यवसायिक र साधन सम्पन्न आधुनिक नेपाली सेना राष्ट्रको एक महत्वपूर्ण स्तम्भ र अंग भएको यथार्थलाई हृदयङ्गम गर्दै मुलुक प्राकृतिक विपद्को जोखिम क्षेत्रमा परेको हुंदा भविष्यमा आउन सक्ने विपत्तिहरुका लागि समयमै आवश्यक तयारी गरी जनताको जिउधनको रक्षार्थ प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सेनाको क्षमता अभिबृद्धि गर्न अत्यावश्यक रहेको बताउनु भएको थियो । 
४. उक्त अवसरमा व्यवस्था तथा नीति निर्देशक, युद्धकार्य निर्देशक लगायत अन्य अधिकृतहरुले नेपाली सेनाको संगठनात्मक संरचना तथा तैनाथी र संस्थाले हांसिल गरेका उपलव्धी, सामना गरिरहेको चुनौतिहरु एवम् विद्यमान अवस्था र सुरक्षा वस्तुस्थितीको साथै बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात नेपाली सेनाले खोज, उद्धार एवम् राहत कार्यमा निर्वाह गरेको भूमिकाबारे जानकारी गराउनु भएको थियो । यसैगरी बलाध्यक्ष रथी श्री राजेन्द्र क्षेत्रीले विभिन्न रायसुझावहरु पेश गर्ने क्रममा नेपाली सेनाको दीर्घकालिन योजना, व्यारेक र वासस्थान, कल्याणकारी सम्बन्धी गतिविधि, विपद् व्यवस्थापन क्षमता अभिबृद्धि सम्बन्धी विविध बिषयहरुको जानकारी गराउनु भएको  थियो । 
५. उक्त कार्यक्रममा राज्य व्यवस्था समितिका माननीय सभापति, माननीय मन्त्री तथा सदस्यहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।