सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाद्वारा सेवा शुभारम्भ भएको नयाँ MI-17V-5 हेलिकप्टरद्वारा भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको विकट झारलाङ्ग गा.वि.स.मा हवाई निरिक्षण तथा राहत वितरण

१. मित्रराष्ट्र रुसबाट खरिद गरी ल्याएको अत्याधुनिक २ (दुई) गोटा Brand New MI-17V-5 हेलिकप्टर आज मिति २०७२ आषाढ ०७ गते विहान एक बिशेष समारोहकाबीच सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाले प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.को समुपस्थितीमा विधिवत रुपमा सेवा शुभारम्भ गर्नु भएको थियो ।  
२. साथै, आज दिउँसो नै सम्माननीय प्रधानमन्त्री श्री कोइराला लगायत बिशिष्ट व्यक्तिहरु सम्मिलित टोली दुवै नयाँ हेलिकप्टरमा सवार भई भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको उत्तरमा रहेका बाटोको पहुँच नपुगेको एवम् विकट पाँच वटा गा.वि.स.हरु (लापा, रि, सेर्तुङ, तिप्लिङ्ग र झारलाङ्ग) मध्ये  झारलाङ्ग गा.वि.स.का भूकम्प पीडित स्थानीय बासिन्दाहरु लाभान्वित हुनेगरी प्रत्येक वडाको प्रतिनिधीहरुलाई  खाद्यान्न तथा राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ । उक्त अवसरमा धादिङ्ग जिल्लामा तैनाथ नेपाली सेनाको सवुज गणका गणपति प्रमुख सेनानी विजितराज रेग्मीले प्रधानमन्त्री श्री कोइराला लगायत कार्यक्रममा सहभागि सम्पूर्ण विशिष्ट व्यक्तिहरुलाई जिल्लाको बस्तुस्थिती सम्बन्धमा अवगत गराउनु भएको थियो । साथै, उक्त कार्यक्रममा क्रमशः माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंह, माननीय उपप्रधानमन्त्री बामदेव गौतम र सम्माननीय प्रधानमन्त्री श्री कोइरालाले आ–आफ्नो मन्तव्य समेत व्यक्त गर्नुभएको थियो । 
३. उक्त राहत वितरण कार्यक्रममा माननीय उपप्रधानमन्त्री बामदेव गौतम, माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रक्षा सचिव, प्रधानसेनापति, मित्रराष्ट्र रसियाका महामहिम राजदुत, रथीबृन्द, साथै उक्त कार्यक्रमा मध्य पृतनाका पृतनापति, नं.६ बाहिनी अड्डाका बाहिनीपति र सबुज गणका गणपतिको समेत उपस्थिती रहेको थियो । 
४. उक्त कार्यक्रमपश्चात् सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोइराला लगायत बिशिष्ट व्यक्तिहरु सम्मिलित टोली आजै काठमाण्डौ फिर्ता हुनु भएको छ । 
५. विधिवत रुपमा सेवा शुभारम्भ गरिएका दुईवटा नयाँ MI-17V-5 हेलिकप्टरहरुबाट नेपाली सेनाको क्षमता अभिवृद्धि भएको, वर्तमान अवस्थामा देश र देशवासीको लागि परेको विपदको कठिन घडीमा एवम् भविष्यमा पनि आइपर्नसक्ने यस किसिमको विपद तथा अन्य कार्यहरु सम्पादन गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।