नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ अन्तर्गत सिन्धुली र चितवन केन्द्रको कार्यक्रम सम्पन्न

१.    आज मिति २०७२ आषाढ २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सिन्धुली जिल्लामा आयोजना गरिएको नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल) सम्पन्न भएको छ । 
२.    नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालित उक्त कार्यक्रम अन्तर्गत सिन्धुली केन्द्रमा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाका ७६३ जना भूतपूर्व सैनिक तथा १२१ जना एकल महिला गरी जम्मा ८८४ जनाको उपस्थिति रहेको थियो ।
३.    कार्यक्रमको शुभारम्भमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा तत्पश्चात गएका पराकम्पनमा परी ज्यान गुमाएका नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त सैनिक एवं तीनका आश्रीत परिवारहरु लगायत ज्यान गुमाउने सम्पूर्ण देशवासीहरुको मृत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 
४.    उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले सम्बोधन गर्ने क्रममा हालै गएको विनाशकारी भूकम्पमा नेपाली सेनाले अन्य सुरक्षा एवं सरकारी निकायहरु, मित्रराष्ट्रका सैनिकहरु तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै जनताको जिउधनको रक्षा गर्न पु¥याएको अतुलनीय योगदानका कारण नेपाली सेनाको शीर अझ उचो भएको बताउनु भएको  छ । अवकाश प्राप्त सैनिकहरु एवं पारिवारिक निबृत्तभरणमा रहेका एकल महिलाहरुलाई रोजगारमूलक व्यवसाय संचालन गरी आय आर्जनमा अभिबृद्धि गराई हिताधिकारीहरुको जीवनस्तर उकास्ने उद्धेश्यकासाथ नेपाल ईन्भेष्टमेन्ट बैंकसंगको सहकार्यमा नेपाली सेनाले सुदुर पश्चिम क्षेत्रबाट २०७० सालबाट शुभारम्भ गरेको लघुबित्त कार्यक्रम हाल सबै बिकास क्षेत्रहरुमा संचालनमा आईसकेको बताउनु भएको छ । साथै निकट भविष्यमा नै बहालवाला सैनिकका परिवारहरुलाई समेत लक्षित गर्दै लघुवित्त कार्यक्रमहरु शुरु गरिने योजना रहेको एवम् नेपाल इन्भेष्टमेन्ट बैंक तथा बोर्डको संयुक्त सहकार्यमा बिनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाहरुका भूतपूर्व सैनिकहरुलाई बासस्थान निर्माणको लागि ४.५ प्रतिशत व्याजदरमा ीयध ऋयकत ज्यगकष्लन ँष्लबलअभ कार्यक्रम ल्याउने योजनामा रहेको बताउनु हुंदै सैनिक कल्याणकारी कोषबाट प्रदान गरिंदै आएको निःशुल्क स्वास्थ्य सुविधालाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउने उद्धेश्यले महांकालस्थानमा ४५९ बेडको त्रि(चन्द्र मिलिटरी अस्पताल (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य समेत भईरहेको बताउनु भएको थियो । सम्मेलनकै क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उपस्थित भूतपूर्व सैनिकहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भई राय सुझाव समेत लिनु भएको थियो ।
५.    सोही अवसरमा प्रधानसेनापति श्री राणाले विनाशकारी भूकम्पबाट भएको अपूरणीय क्षतीमा आफ्ना सकलदर्जा एवं अवकाशप्राप्त सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका ब्यक्तिहरु मध्ये अवकाश प्राप्त सैनिक तथा एकल महिला गरी ५ जनालाई कल्याणकारी कोषबाट व्यवस्था गरिएको राहत रकम रु. ५० हजार र ५ जनालाई रकम रु. २५ हजारको चेक  हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी भूतपूर्व सैनिकहरुलाई स्वःरोजगार बनाई आर्थिक रुपले आत्मनिर्भर बनाउन, स्वाभिमानपूर्ण र समाजमा मर्यादित जीवनयापन गर्न कल्याणकारी वित्तिय प्याकेज      (लघुवित्त कार्यक्रम) अन्तर्गत १० जना उद्यमीलाई रु. १ लाखदेखि ३ लाखसम्मको चेक हस्तान्तरण गर्नु भएको थियो ।
६.    त्यसैगरी चितवन केन्द्रमा संचालन भएको भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम     (मध्यमाञ्चल) को नेपाली सेनाको नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी गणेश वहादुर कार्कीले कार्यक्रम आरम्भ गर्नु भई प्रधान सेनापतिज्यूको सन्देश पढेर सुनाउनु भएको थियो । उक्त समारोहमा रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन जिल्लाका २५१६ जना भूतपूर्व सैनिक तथा २७१ जना एकल महिला गरी जम्मा २७८७ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित ३५३ जना भू.पू. सैनिक र ४२ जना एकल महिला गरी जम्मा ३९५ जनालाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरी औषधी वितरण गरिएको थियो । सोही अवसरमा अवकाश प्राप्त सैनिक ९ जना र वहालवाला सैनिक ३ गरी १२ जनालाई राहत रकम जनही रु. ५० हजारको चेक हस्तान्तरण गरिएको थियो भने कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकाको परिवार १ जनालाई रकम रु. ३ लाख २५ हजारको चेक हस्तान्तरण गरिएकोे थियो ।
७.    उक्त सम्मेलनमा भूतपूर्व सैनिकहरु तथा परिवारलाई स्वास्थ्य सेवा डेस्क खडा गरी  उपचार सेवा प्रदान गरिएको थियो भने कानुनी परामर्श सेवा लगायत भूकम्प प्रतिरोधात्मक घर बनाउन परामर्श समेत दिईएको थियो ।
८.    यस किसिमको सम्मेलन एवं भेटघाट कार्यक्रमले नेपाली सेना र भूतपूर्व सैनिकहरुबीच सामिप्यता, सहकार्य, सहयोग र स्वाबलम्बन एवं आत्मनिर्भर बन्नका लागि अभिप्रेरित गर्दै समग्रमा राष्ट्रिय हित एवं समुन्नतीमा हातेमालो गर्दै अगाडी बढ्ने अवसर प्राप्त हुनुको साथै प्राप्त राय सुझावहरुबाट नेपाली सेनाको कल्याणकारी कार्य योजनाहरु तयार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।