प्रधानसेनापतिद्वारा दिपायलस्थित सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण

१.    आज मिति २०७२ श्रावण ०७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा डोटी जिल्लाको दिपायलस्थित सुदर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२.    निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त पृतना हे.क्वा. को हालको वस्तुस्थिति अपरेशन, बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति श्री राणाले हालैको विनाशकारी भूकम्पको अवधिमा सिमित श्रोत र साधनको बाबजुद नेपाली सेनाले आप्mनो सम्पूर्ण शक्ति प्रयोग गर्दै अहोरात्र राष्ट्र र राष्ट्रबासीको सेवामा प्रभावित क्षेत्रहरुको गाउंस्तरसम्म व्यापक रुपमा परिचालित भई खोज, उद्धार तथा राहत कार्य संचालन गरी जनताको जिउ धनको रक्षा गर्न सकलदर्जाहरुले प्रदर्शन गरेको कर्तव्यपरायणता, पेशागत व्यवसायिकता र सेवाभाव जस्ता महत्वपूर्ण योगदानका कारण नेपाली सेनाको गौरवमय इतिहासमा एउटा सुनौलो अध्याय थपिएको बताउनु भएको छ ।

३.    त्यस्तै सम्बोधनको क्रममा प्रधानसेनापति श्री राणाले नेपाल सरकारद्वारा नेपाली सेनालाई समयानुकुल बनाउने उद्धेश्य अनुरुप हवाई साधन, हात हतियार, गोलीगठ्ठा लगायत अन्य आवश्यकीय श्रोत साधन उपलब्ध गराईरहेको हुंदा नेपाली सेनाले पनि मलुकलाई संकट परेको अवस्थामा नेपाल सरकारको निर्देशनमा आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गरी राष्ट्र र जनताको सेवामा सदैव दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्न सकलदर्जाहरुलाई निर्देशन दिनु हुंदै विपद्को समयमा सुदुर पश्चिम पृतना हे.क्वा. ले देश र जनताप्रति गरेका उल्लेखनीय कार्यहरुको समेत प्रशंसा गर्नु भएको थियो ।

४.    उक्त निरीक्षण भ्रमण कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री राजेन्द्र वहादुर कार्की, अन्य रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

५.    प्रधानसेनापति श्री राणा भोली मिति २०७२ श्रावण ८ गते काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।